युट्युबरले रघुजीको भनाइ ‘बंग्याएर भाइरल’ बनाएपछि…
अखबार टुडे
प्रकाशित:
२०८०, २३ आश्विन

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद रघुजी पन्त युट्युबरको फन्दामा परेपछि विज्ञप्ति नै निकाल्नु परेको छ । अराजक युट्युबरले आफूले बोलेको कुरालाई काँटछाँट गरी विवादित बनाइएको भन्दै उनले त्यस्ता सामग्री बनाउनेमाथि कारबाहीको समेत माग गरेका छन् ।

नेता पन्तले इजरायलमा नेपाली विद्यार्थीको मृत्यु हुनुअघि बेग्लै सन्दर्भमा बोलेको विषयलाई अहिले आएर केही युट्युब र सामाजिक सञ्जालमा आफू अनुकूल काटेर अनर्थ लगाई भाइरल बनाइएको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।

नेता पन्तले भनेका छन्, ‘इजरायलमा नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परी मारिएको समाचार आउनुभन्दा अघि बोलेका कतिपय बोलीलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडिओ बनाएर टीकटक, युट्युब आदिमा राखी केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएको भन्दै भनेका छन्, ‘यस्ता भिडिओहरू तत्काल हटाउन माग गर्दछु । यस्तो काम गलत भएकोले यस्ता भिडिओ बनाएर प्रचार गर्ने कार्य रोक्न सम्बन्धित क्षेत्रले आवश्यक पाइला चालोस् भनी ध्यानाकर्षण गर्दछु ।’

नेता पन्तले एक नेपालीले अर्को नेपालीको दुःखमा सहभागी भएर पीडामा मलहम लगाउनुपर्ने बेलामा व्यक्तिका भनाइलाई बङ्ग्याएर प्रस्तुत गरी भ्युज बढाउन खोज्ने अमानवीय कार्य भएको भन्दै तत्काल ती भिडिओ क्लिप हटाउन माग गरेका छन् ।
पछिल्लो समय प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा युट्युबरहरुको भीडले सांसदहरूलाई घेरा हालेर भाइरल कन्टेन्ट बन्ने खालका प्रश्नहरू गर्ने लहर चलेको छ ।

प्रतिक्रिया