इजरायलले गाजाको सीमा क्षेत्र खाली गराउँदै
अखबार टुडे
प्रकाशित:
२०८०, २१ आश्विन

काठमाडौं । इजरायली सेनाले गाजाको सीमा नजिकका सहरमा बस्ने सबै बासिन्दालाई आगामी चौबीस घण्टाभित्र त्यस क्षेत्रबाट अन्यत्र सार्ने बताएको छ । प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको इजरायले जनाएको हो ।

बीबीसीले उल्लेख गरेअनुसार दक्षिणी इजरायलका विभिन्न क्षेत्रमा दोस्रो दिन आइतबार पनि दुई पक्षबीच भिडन्त जारी छ । त्यहाँ चार सयभन्दा बढी प्यालेस्टिनी बन्दुकधारीहरू मारिएको र कैयौँलाई गिरफ्तार गरिएको इजरायल सेनाले जनाएको छ ।
गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायले गरेको हवाई हमलामा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब दुई हजार घाइते भएको बताएका छन् ।

हिजबुल्लाह समूहले तीनवटा इजरायली चौकीमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले लेबननमा पनि आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । उक्त आक्रमणमा आफ्ना कम्तीमा तीन सय नागरिक मारिएको र एक हजारभन्दा बढी घाइते भएको बताएको छ ।

कति इजरायलीलाई हमास लडाकुले बन्धक बनाएका छन् भन्ने अझै स्पष्ट भएको छैन । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को आइतबार आपत्कालीन बैठक बस्दैछ । त्यसमा उक्त संकटबारे छलफल हुने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया