कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा
अखबार टुडे
प्रकाशित:
२०८०, २० आश्विन

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभालाई सम्बोधन गर्दै शनिबार राजीनामा दिएका छन् । उनले सबै राजनीतिक दलसँग सहकार्यका लागि भन्दै राजीनामा दिएको बताए ।

कोशीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले समेत विश्वासको मत नदिने बताएपछि एमाले नेतासमेत रहेका कार्कीले पदबाट राजीनामा दिएका हुन् । राप्रपाले तथस्ट बस्ने बताएको थियो । त्यसैले पनि एामले कोशी संसदीय दलको बैठकमा कार्कीलाई राजीनामा दिन सुझाव दिइएको थियो ।

राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले आ–आफ्ना दलीय आग्रह नछोडेमा जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने बताएका थिए । प्रदेश संरचनाविरुद्धमा आवाज उठिरहेको अवस्थामा राजनीतिक दलहरूले सचेत भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

राजीनामाबारे कार्कीले भने, ‘मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु । त्यही निर्णय तपाईंहरूसमक्ष सुनाउनका लागि उभिएको छु ।’

उनले प्रदेशसभालाई सम्बोधन गर्दै भने, ‘कुनैपनि राजनीतिक दललाई बहुमत प्राप्त छैन । राजनीतिक दलहरूबीचको सहकार्यबिना यस प्रदेशको राजनीतिक निकास निक्लिन सक्दैन । हामीले अझै बढी आफ्ना आग्रहलाई थोप¥यौं, आफ्ना आग्रहमा मात्रै बल गर्दै गयौं भने केही महिनाभित्र मध्यावधि निर्वाचनमा जानुपर्छ । यो मध्यावधि निर्वाचन जनताको माग होइन, जनताको चासोको विषय होइन ।’

उनले थपे, ‘एक त प्रदेश संरचनाप्रति आलोचना र टिप्पणी छ । आजै यहाँ हामी बसिरहेका बेला बाहिरपट्टी विराटनगरमा प्रदेश संरचना खारेजीको मागसहित नाराजुलुस लागिरहेको छ । अनि हामीले यो कुरालाई बिर्सिएर, कानमा तेल हालेर, यो मात्रै ठीक भनेर हिँड्यो भने जनताले आलोचना गर्नेछन् । त्यसैले जनताले निर्वाचन चाहेका छैनन् ।’

मुख्यमन्त्री कार्कीले यसबीचमा जानेर वा नजानेर कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताए । उनले भने, ‘हामीले दलको स्वार्थ वा हितका लागि गर्दा कहिलेकाहीं राजनीति जटिल मोडमा जान सक्छ । हामीले कदम चाल्दै गर्दा ठीक गर्दै छौं कि गलत गर्दैछौं भन्ने कुरा सोच्नुपर्छ भन्ने घटनाक्रमले देखाएको छ ।’ प्रदेशको राजनीतिलाई सहीमार्गमा लैजान एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको पनि कार्कीको भनाइ थियो ।

प्रतिक्रिया