इजरायलद्वारा हमासविरुद्ध युद्ध घोषणा
अखबार टुडे
प्रकाशित:
२०८०, २० आश्विन

काठमाडौं । इजरायलले प्यालेस्टाइनको हमासविरुद्ध शनिबार युद्ध घोषणाको छ । युद्ध घोषणा गरेकै दिन हमासले इजरायलमा आक्रमण गरेको छ ।

प्यालेस्टिनी विद्रोहीहरूले इजरायलमाथि रकेट आक्रमण गर्दा २२ जनाभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हमासको आक्रमणमा परी सात जना नेपाली समेत घाइते भएका छन् । घाइते भएका नेपालीहरु कृषिका विद्यार्थी रहेको बताइएको छ ।

शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देश युद्धमा रहेको घोषणा गर्दै यसबाट हमासले ठूलो मूल्य चुकाउने चेतावनी दिएका छन् । प्यालेस्टिनी उग्रवादीहरुले शहरभित्रै छिरेर हमला गरेको समाचारहरुमा जनाइएको छ । शनिबार नै इजरायली सेनाले गाजामा हवाई कारबाही थालेको छ ।

यसअघि हमासका सैन्य कमाण्डर मोहम्मद डैफले हमास मिडियामा सम्बोधन गर्दै इजरायलमाथिको आक्रमण सुरु भएको बताएका थिए । त्यसलगत्तै हमासले इजरायलमाथि रकेट प्रहार गरेको थियो ।

हमासका सैन्य कमाण्डर मोहम्मद डैफले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका छन् । उनले भनेका छन्, ‘यो संसारमा भएको अन्तिम अतिक्रमणलाई समाप्त गर्ने विशाल लडाइँको दिन हो ।’ इजरायलमाथि ५ हजार रकेट प्रहार गरिएको हमासको दाबी छ ।

प्रतिक्रिया