जेलमा रहेकी नरगिसलाई ‘नोबेल शान्ति पुरस्कार’
अखबार टुडे
प्रकाशित:
२०८०, १९ आश्विन

काठमाडौं (एजेन्सी)। यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो ।
इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकारको प्रवर्द्धनमा लागेको भन्दै एकेडेमीले नरगिसलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो । नरगिसलाई इरान सरकारले जेलमा राखेको छ । उनलाई तेहरानस्थित कुख्यात इभिन कारागारमा राखिएको छ ।
नरगिसले पत्रकारका रूपमा इरानमा लामो समय काम गरेकी थिइन् । पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध उनले आवाज उठाउँदै आएकी थिइन् । उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नरगिससहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मेमा प्रेस स्वतन्त्र पुरस्कार दिएको थियो ।
५१ वर्षीया नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छिन् । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नरगिस पर्यायवाची शब्द बनेको पुरस्कार घोषणा हुनुअघि नै सीएनएनले शुक्रबार प्रकाशित एक रिपोर्टमा उल्लेख गरेको छ ।

प्रतिक्रिया