‘जनयुद्ध दिवश कसैले भन्दैमा हट्दैन’
अखबार टुडे
प्रकाशित:
२०८०, १७ आश्विन

काठमाडौं, १७ असोज । सरकारले ‘जनयुद्ध दिवश’ क्याबिनेटबाटै निर्णय भएकाले कसैले भन्दैमा हटाउने नसक्ने जनाएको छ ।
नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जनयुद्ध दिवस क्याबिनेट डिसिजन भएकाले कसैले भन्दैमा नहटाउने बताएकी छन् ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘हिंसा थालेको दिन दिवस हुन नसक्ने’ भन्दै खारेज नगरे त्यसविरुद्ध कदम चाल्ने चेतावनी दिएका थिए ।

एमाले अध्यक्ष ओलीको चेतावनीपूति लक्षित गर्दै सञ्चारमन्त्री शर्माले भनिन्, ‘यो क्याबिनेट डिसिजन हो । हिजो हामी नेकपा एमालेसँगै गठबन्धनमा थियौं । त्यतिबेलाको गठबन्धनको सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भनेर क्याबिनेटबाट पारित गरेको विषय हो । क्याबिनेटले पास गरेको विषय संसदमा एकजना नेताले बोल्दैमा केही हुँदैन । क्याबिनेटले पारित गरिसकेपछि जनयुद्ध दिवस मनाएर जान्छ । जनयुद्ध दिवसको विषयमा उहाँले व्यक्त गरेको अभिव्यक्तिमा सरकारको सहमति छैन ।’

मन्त्री शर्माले आजको व्यवस्था र अवस्था जनयुद्धकै जगमा बनेको समेत बताइन् । ‘जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी यो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा हुँदैनथ्यौँ’ मन्त्री शर्माले भनिन्, ‘क्याबिनेटले डिसिजन गरेर सरकारको क्यालेण्डरमै समावेश भइसकेको विषयमा अनावश्यक ढंगले घृणा फैलाउनु उपयुक्त हुँदैन ।’ जनयुद्ध खास पार्टी र व्यक्तिको विषय नभएकाले सरकारले दिवसकै रुपमा मनाउने उनको भनाइ छ ।

प्रतिक्रिया