कोशीमा एमाले ११ लाख घाटामा, पार्टीले कसरी गर्छ आम्दानी ?
अखबार टुडे
प्रकाशित:
२०८०, १३ आश्विन

विराटनगर, १३ असोज । नेकपा एमाले कोशी प्रदेश कमिटी घाटामा गएको छ । आर्थिक वर्ष २०७९/०८० मा ११ लाख घाटामा गएको हो । आर्थिक वर्ष २०७८–०७९ मा भने नाफामा थियो ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा प्रस्तुत २०८० भदौ २३ गते सम्पन्न लेखापरीक्षण प्रतिवेदनमा गत आर्थिक वर्षमा पार्टी ११ लाख १६ हजार ६७४ रुपैयाँ घाटामा रहेको उल्लेख छ । यद्यपी, पार्टीको बैंक खातामा भने अहिले पनि २१ लाख २१ हजार ७९६ रुपैयाँ मौज्दात रहेको छ ।

एमाले कोशीले आर्थिक वर्ष ०७८–०७९ मा २ लाख १५ हजार ३११ रुपैयाँ आम्दानी गरेको थियो भने खर्च ३७ लाख २९ हजार ९६२ रुपैयाँ गरेको थियो । र, ३४ लाख ८५ हजार बचत गरेको थियो ।

आर्थिक वर्ष २०७९–०८० मा भने एमालेको आम्दानी जम्मा ३५ लाख ५० हजार ४५८ रुपैयाँ भएर ४६ लाख ६७ हजार १३२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । सो आर्थिक वर्षमा निर्वाचन भएको थियो । लेखापरीक्षण प्रतिवेदनमा एमालेले खर्च बैंकबाटै गरिएपनि कमिटीबाट निर्णय गरेर, कमिटी प्रमुखले भुक्तानी आदेश गरेर वा वैठकबाट खर्च अनुमोदन नगरिएको उल्लेख छ ।

पार्टीले यसरी गर्छ आम्दानी
एमाले कोशी प्रदेशमा ९५ लाख ४३९ सदस्य रहेको पार्टीले दावी गरेको । तर, सदस्यता शुल्कबाट जम्मा ८ लाख ३४ हजार ४५८ रुपैयाँमात्र आम्दानी गरेको छ ।

यस्तै, जनप्रतिनिधि लेवीवापत २४ लाख २ हजार र अन्य लेवीबाट ३ लाख १४ हजार आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा चालू आर्थिक वर्षमा एमालेले खर्चतर्फ पारिश्रमिक ६ लाख ५० हजार, स्वदेश तथा स्थानीय भ्रमणमा ६ लाख ३३ हजार, बैठक खर्चमा १ लाख ४१ हजार, अतिथि सत्कारमा १ लाख ९२ हजार र भेला तथा प्रशिक्षणमा ५ लाख २५ हजार खर्च गरेको जनाइएको छ ।

प्रतिवेदनमा भ्रमणको नाममा हवाई भाडामा ठूलो रकम खर्च भएको देखिएपनि को कसलाई के प्रयोजनका लागि हवाई सुविधा उपलब्ध गराइएको भन्ने सम्बन्धी नीतिगत निर्णय गरेको नदेखिएको उल्लेख छ ।

यस्तै, कमिटीको निर्णय बमोजिम उठ्नुपर्ने कमिटी लेबी, सांसद लेवी, राजनीतिक नियुक्ति लेबी, पार्टी सदस्य लेबि उठ्न बाँकी देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया