प्रधानमन्त्री प्रचण्ड भारत जाँदा भएका थिए यी दर्जनभन्दा बढी सम्झौताहरु
अखबार टुडे
प्रकाशित:
२०८०, ६ आश्विन

काठमाडौं, ६ असोज । नेपालका लागि भारतीय राजदूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणमा भएका सम्झौता अघि बढेको बताएका छन् । शनिबार भारतीय दूतावासले भ्रमणको सम्झौताअनुसार अघि बढेका आयोजनाहरुको सूची सार्वजनिक गरेको हो ।

दूतावासले कुर्था–बिजरपुरा रेलमार्ग सञ्चालनमा आएको जनाएको छ । जसले नेपाल–भारतका जनताबीचको सम्पर्कलाई सुदृढ बनाएको जनाएको छ ।

यस्तै, नेपालको विकासका लागि नेपाल–भारत विकास सहकार्य, भारतीय अनुदानमा निर्मित सामुदायिक विकास परियोजनाको उद्घाटनसमेत भएको समेत दूतावासले जानकारी दिएको छ ।

साथै, संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसका लागि निर्मित क्याम्पस भवन निर्माण सम्पन्न, सुदूरपश्चिम प्रदेशमा तीन वटा परियोजना निर्माण अघि बढेको समेत भारतीय दूतावासले जनाएको छ । जसमा टिकापुर बहुमुखी क्याम्पस, पशुपति शिक्षा मन्दिर र सिद्धनाथ माध्यमिक विद्यालयको निर्माण अघि बढेको जानएको छ ।

सन् २००३ यता स्थानीय जनताको हितका लागि नेपालको विभिन्न जिल्लामा ५४६ परियोजना सञ्चालनमा आइसकेका छन् भने काठमाडौँ जिल्लाको चन्द्रागिरिस्थित विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।
दार्चुला, सङ्खुवासभा र उदयपुर जिल्लामा शिक्षा, खानेपानी आपूर्ति तथा सरसफाइको क्षेत्रमा ४ वटा सामुदायिक विकास परियोजना निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भइसकेको छ ।

भारतले नेपालका विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स तथा ५० वटा ५० स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । हालसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको समेत भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ ।

साथै, सांस्कृतिक सम्पदाको प्रवर्धनका लागि सहकार्य, नापीचन्द्र महाविहारको भूकम्पपछिको पुनर्निर्माण, बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठ धर्मशालाको पुनर्निर्माण र भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्र लगायतका काम अघि बढेको दूतावासले जनाएको छ ।

यस्तै, दूतावासले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा र यसअनुसार अघि बढेका सम्झौता समेत स्मरण गरेको छ । अहिले नै नेपालबाट ६३१ मेगावाट बिजुली खरिद सुरु गरिसकेको र यसका लागि मध्यकालीन सम्झौता अघि बढेको भारतले जनाएको छ ।

यसबाहेक, १३२ केभी क्षमताको टनकपुर–महेन्द्रनगर प्रसारणलाइनबाट समेत भारतमा बिजुली निर्यात सुरु भएको दूतावासले उल्लेख गरेको छ ।

प्रतिक्रिया