भारत-क्यानडा तनाव : भारतद्वारा क्यानडाका लागि ‘भिषा सेवा बन्द’
अखबार टुडे
प्रकाशित:
२०८०, ४ आश्विन

नयाँदिल्ली, ४ असाेज (एजेन्सी) । एक सिख पृथकतावादीको हत्याको विषयलाई लिएर उत्पन्न विवाद चर्किंदै गएपछि नयाँदिल्लीले भारतमा रहेका क्यानाडेली कुटनीतिक कर्मचारी कटौतीको माग गर्दै भिसा सेवा बन्द गरेको जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत जुनमा भ्यानकुभरनजिकै हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टको भूमिका रहेको भन्ने आरोपलाई गम्भीरताका साथ लिन भारतसँग माग गरेको छ ।

यस परिणामले निज्जरको हत्यामा भूमिका खेलेको कुनैपनि भनाइलाई ‘बेतुकको हल्ला’ भन्दै भारतले आरोपको खण्डन गर्दै कुटनीतिक अधिकारीको निष्कासनको मार्गलाई अँगालेको थियो । यो आरोपले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत र जी–७ सदस्य क्यानडाबीचको तनावपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका छन्, ‘हामीले क्यानाडा सरकारलाई कूटनीतिक उपस्थितिमा समानता हुनुपर्छ भनेर सूचित गरेका छौं ।’ उनले थपे, ‘यहाँ उनीहरूको संख्या क्यानाडामा हाम्रो भन्दा धेरै छ । त्यसमा कमी हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

नयाँदिल्लीले क्यानडामा भिसा आवेदनहरू ह्यान्डल गर्न बन्द गरेको बताएको छ, ‘सुरक्षा खतराहरू’ कारक देखाउँदै उनीहरूले यसले आफ्ना अधिकारीहरूको काममा ‘बाधा’ पु¥याइरहेको बताएका छन् । ‘हालका लागि क्यानडाको सुरक्षा अवस्था र क्यानडा सरकारको अकर्मण्यताका कारण हामीले अस्थायी रूपमा भिसा सेवा बन्द गरेका छौं’ बागचीले भने ।

केही घण्टाअघि क्यानडाको उच्चायोगले आफ्ना कर्मचारीलाई ‘विभिन्न सामाजिक सञ्जालमा धम्की’ दिएपछि भारतमा रहेका कूटनीतिज्ञको सङ्ख्या ‘समायोजन’ गर्ने बताएको थियो ।

क्यानडाको नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तनाव बढेको वर्तमान वातावरणलाई मध्यनजर गर्दै हामी हाम्रा कूटनीतिज्ञहरूको सुरक्षा सुनिश्चित गर्न कदम चालिरहेका छौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘परिणामस्वरूप, र सावधानीको प्रचुरताको कारण, हामीले अस्थायी रूपमा भारतमा कर्मचारीहरूको उपस्थिति समायोजन गर्ने निर्णय गरेका छौं ।’

क्यानाडेली नियोगले त्यहाँबाट बाहिरिने व्यक्तिको सङ्ख्याबारे विस्तृत विवरण नदिएपनि आफ्ना कार्यालयहरू ‘खुला र सञ्चालन’ भएको बताउँदै आफ्ना कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ । ‘भारतले त्यहाँ हाम्रा मान्यता प्राप्त कूटनीतिज्ञहरू र कन्सुलर अधिकारीहरूको सुरक्षाप्रदान गर्नेछ भन्ने आशा गर्दछौं, जसरी हामी उनीहरूका लागि गरिरहेका छौं’ विज्ञप्तिमा भनिएको छ ।

सोमबार ओटावाले क्यानडामा भारतीय विदेश गुप्तचर सेवाका प्रमुख भनिएका एक कूटनीतिज्ञलाई देश निकाला गरेपछि नयाँदिल्लीले क्यानडाका एक कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो ।

भारतको विदेश मन्त्रालयले क्यानडामा रहेका आफ्ना नागरिकको सुरक्षाका लागि चिन्ता व्यक्त गरेको एक दिनपछि भिसा स्थगन गरिएको हो । ‘धम्कीले विशेषगरी भारतीय कूटनीतिज्ञ र भारतविरोधी एजेन्डाको विरोध गर्ने भारतीय समुदायका एक वर्गलाई लक्षित गरेको छ’ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘खालिस्तान’
भ्यानकुभरको उपनगर सरेमा रहेको सिख मन्दिरबाहिर दुई जना नकाबधारी आक्रमणकारीले निज्जरको गोली हानी हत्या गरेका थिए । खालिस्तान भनिने सिख राज्यको निर्माणको लागि एक अभियानकर्मी निज्जरलाई भारतीय अधिकारीहरूद्वारा कथित आतङ्कवाद र हत्या को षड्यन्त्रको लागि खोजी गरिएको थियो ।

क्यानडास्थित विश्व सिख सङ्गठनका अनुसार निज्जरले ती आरोप अस्वीकार गरेका छन् । भारत सरकारले ओटावामाथि कट्टरपन्थी सिख राष्ट्रवादीहरूको गतिविधिप्रति आँखा चिम्लेको आरोप लगाएको छ, जसले उत्तरी भारतबाट स्वतन्त्र राज्यको निर्माणको वकालत गर्छन् । ट्रुडोले सोमबार निज्जरको मृत्युको अनुसन्धान सार्वजनिक गर्नुअघि नै सङ्कटको संकेत देखिएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको सुरुमा जी–२० मा ट्रुडोसँगको भेटमा ‘क्यानडामा चरमपन्थी तत्वहरूको भारत विरोधी गतिविधि जारी रहेकोमा कडा चिन्ता व्यक्त गरेका थिए । क्यानडाले पनि भारतसँग स्वतन्त्र व्यापार सम्झौताका लागि वार्ता स्थगित गरेको थियो र गत हप्ता क्यानडाका व्यापार मन्त्रीले अक्टोबरमा हुने भनिएको भारते भ्रमण रद्द गरेका थिए ।

यो मामिलाले भारतसँग अमेरिकी सरकारको पहललाई जटिल बनाउन सक्छ, जसले हालैका वर्षहरूमा दुबै देशहरूले आफ्नो सम्बन्धलाई निरन्तर सुधार गर्दै आएका छन् । वासिङ्टनले एशिया–प्रशान्त क्षेत्रमा चिनियाँ प्रभावको सामना गर्न नयाँदिल्लीलाई एक प्रमुख सहयोगीको रूपमा हेर्दै आएको छ ।

प्रतिक्रिया