सरकारले भन्यो- शिक्षकसँग विगतमा भएका सहमतिबाट सरकार पछि हट्दैन
अखबार टुडे
प्रकाशित:
२०८०, ४ आश्विन

काठमाडौं, ४ असोज । सरकारले शिक्षकसँग विगतमा भएका सहमतिबाट पछि नहट्ने स्पष्ट पारेको छ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकसँग सरकारले गरेका सहमतिबाट पछि नहट्ने बताएका हुन् ।

बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारका तर्फबाट धारणा राख्दै उनले शिक्षक महासंघले अहिले राखेका मागहरुमध्ये कतिपय शिक्षा नियमावलीमै समावेश गर्नुपर्ने खालका रहेको बताए । उनले भने, ‘शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी छन् । त्यो विषयमा उहाँहरुसँग छलफल र वार्ता गरेर हामी शिक्षा नियमावलीमा सम्बोधन गर्छौ भन्न सकिन्छ ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले निजमति सेवा सरहको पेन्सनको सवालमा २०७६ सालदेखि लागु हुनेगरी शिक्षा मन्त्रालयले परिपत्र गर्नेवित्तिकै कार्यान्वयनमा जाने बताए । ‘यो पनि उहाँहरुको माग छ यसमा पनि हामीले सल्लाह गरेका छौ, यसमा कुनै समस्या छैन’ कार्यबहाक प्रधानमन्त्री खड्काले भने, ‘बीचमा उहाँहरु छलफलमा बस्नुभएको भए धेरै कुरा क्लियर हुन्थ्यो । उहाँहरुले पनि भन्न पाउनुहुन्थ्यो ।’

उनले शिक्षकहरुको मागबारे समग्रमा समाधान निस्कने बताउँदै भने, ‘शिक्षकहरुको मागमा समग्रतामा समाधान निस्कन्छ । पार्टीका तर्फबाट पनि यही कुरा नेताहरुले भनिदिनुस् । पहिला सहमति भएका कुराबाट सरकार पछि हट्दैन ।’

मुलुकको अर्थतन्त्रले धान्न नसक्ने, आर्थिक बोझ हुने कुरा र संविधानले गरेको व्यवस्थाको प्रतिकुल हुने कुरामा सरकार पुग्न नसक्ने उनको भनाइ छ । उनले भने, ‘बाँकी कुरा खुला छलफल गरौँ, कति ऐनमा आउला, कति नियमावलीमा आउला, कति कार्यविधि र कति परिपत्रमा आउला यो कुरा पहिला पनि भनेको हो ।’

प्रतिक्रिया