प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान, असोज ४ गते महासभालाई सम्बोधन गर्ने
अखबार टुडे
प्रकाशित:
२०८०, ३० भाद्र

काठमाडौं, ३० भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका अधिकारीहरु लगायत पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्नेछन् । आगामी असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र, सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

प्रतिक्रिया