१४ वर्ष जेल बस्दा २५ पटक सारियो, यातनाको सिमा नै थिएन : अध्यक्ष ओली
अखबार टुडे
प्रकाशित:
२०८०, ३० भाद्र

काठमाडौं, ३० भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको ‘बासँग बालबालिका’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विकासको हिसाबले, सुशासनको हिसाबले, हरेक हिसाबले देश नराम्रो अवस्थामा रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘अब युवा हस्तक्षेपको आवश्यकता छ, युवाहरूले यसमा हस्तक्षेप गर्नुपर्छ । त्यतिकै कुनै अनुभव नभएका मान्छेले आवेशमा देशको नेतृत्व गर्छन् भन्ने कुरा गलत हो । पानीमा नपसेको मान्छेले पौडी राम्रो खेल्छ भन्नु गलत हो । फुटबल ग्राउन्डमा नपसेको मान्छेले फुटबल राम्रो खेल्छ भन्नु गलत हो । त्यो सम्भव छैन, त्यसकारण जे सुकै कुराको लागि पनि अनुभव चाहिन्छ ।’

युवाले राजनीतिक हस्तक्षेप गर्न आवश्यक रहेको बताउँदै उनले त्यसका लागि परिपक्व पार्टी, परिपक्व साथ लिएर राष्ट्रिय अभियान चलाउन आवश्यक रहेको बताए । उनले त्यसपछि मात्रै देश बनाउन सकिने बताउँदै अबको २० वर्षपछि नेपाल विकसित र दुनियाँलाई आकर्षित बनाउने बन्ने दावी गरे ।

अध्यक्ष ओलीले सो अवसरमा आफ्नो बाल्यकालसमेत सम्झिँदै नयाँ र पुस्तान्तरणका नाममा खराब चरित्रलाई साथ नदिन बालबालिका तथा किशोर किशोरीलाई आग्रह गरे । कार्यक्रमका सहभागीहरूको प्रश्नको जवाफमा अध्यक्ष ओलीले नयाँ भन्दैमा सबै राम्रा नहुने बताए । नयाँका नाममा आएका खराब व्यक्तिहरूबाट नसिक्न उनले बालबालिकाहरुलाई आग्रह गरे ।
‘नयाँका नाममा आएका खराब चिन्न सक्नुपर्छ । पुस्तान्तरको नाममा आएका खराबहरूबाट टाढा रहनुस् । जेनेरशन ग्र्याब भनेको आइँच ब्रो भन्नु होइन । तपाईँहरू मेहनती बन्नुस्’ उनले भने ।

साथै, आफ्नो जीवनका धेरै भोगाइहरू बालबालिकालाई सुनाउँदै अध्यक्ष ओलीले एकजना प्रहरीका डिएसपीले जेलबाट मार्न लगेका बेला यस्तो देशभक्त व्यक्तिलाई मार्न हुँदैन भनेर माथिल्लो निकायमा लगेर बुझाइदिएकाले आफू बाँच्न सफल भएको सुनाए ।

अध्यक्ष ओलीले जेलमा निर्मम् यातना दिएर काठको तुर्लुङमा खुट्टा राख्दा भतभति पोलेको सम्झिँदै भने, ‘१४ वर्ष जेल बस्दा २५ पटक जेल सारियो । यातनाको कुनै सिमा थिएन । मसँग त्यसबेला दुःख सहने कि मर्ने भन्ने दुई विकल्प थिए । मैले धैर्य गुमाइन किनकी मेरो उद्देश्य महान थियो । त्यसैले जस्तासुकै परिस्थिति पनि भोग्न तयार थिएँ ।’

उनले आफू तीन वर्षको हुँ आमा बितेको बताउँदै भने, ‘मेरो बाल्यकाल हजुरआमासँग धेरै बित्यो । मेरी हजुरआमाले जे काम गर्नुहुन्थ्यो ती काम मैले पनि गरेँ । मैले हलोकोदालो गरेँ । जीवनमा मैले धेरै दुःख पाएँ । तपाईहरु कसैको पनि मेरोजस्तो कष्टपूर्ण जीवन हुँदै नहोस् ।’

उनले आफूलाई अब्बल राजनीतिज्ञ नमान्ने समेत बताए । ‘म आफूलाई अब्बल राजनीतिज्ञ मान्दिन । प्रधानमन्त्रीचाहिँ भकै हुँ । अब्बल राजनीतिज्ञ अब तपाइँहरुबाट जन्मिनुपर्छ’ अध्यक्ष ओलीले भने, ‘हामीभन्दा तपाईहरु बढी देशभक्त, विकास प्रेमी, क्लिन, भिजनरी, कर्मठ र क्रियाशील हुनुहुन्छ । त्यस्ता नेताका रुपमा सफल नेताका रुपमा तपाईहरु आउनुपर्छ । मेरा केही असफलताहरु छन् । मैले नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न सकिरहेको छैन । तपाईहरुले ती षडयन्त्रलाई पराजित गर्नुपर्छ ।’

प्रतिक्रिया