काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या, एक पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, ३० भाद्र

काठमाडौं, ३० भदौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको छ । धारिलो हतियार प्रहर गरी चार जनाको हत्या भएपछि अहिले त्यहाँ सन्नाटा छाएको छ । तीनकुनेस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा शनिबार बिहान दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार हत्या गरिएका चार जनामध्ये तीन जना एकै परिवारका छन् ।

हत्या भएकाहरुमा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राई रहेका छन् । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको मैनालीले जानकारी दिए । अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ ।

उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ । हत्या गरिएकोहरुको शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ । घटनाको अनुसन्धानका क्रममा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

प्रतिक्रिया