दोस्रो म्युजिक खबर तीज अवार्ड : ‘सर्वोत्कृष्ट गायक-गायिका’ ठहरिए सुमन र सलिना
अखबार टुडे
प्रकाशित:
२०८०, २६ भाद्र

काठमाडौं । दोस्रो ‘म्युजिक खबर तीज म्युजिक अवार्ड-२०८०’ मा गायक सुमन परियार र गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक गायिका घोषित भएका छन् । सुमनको टिकटक भाइरल र सलिनाको रुपै सलल गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक÷गायिका घोषित भएका हुन् ।

त्यस्तै, गायिका सुमित्रा कोइराला सर्वोत्कृष्ट मौलिक गायिका घोषित भइन् । गायिका कोइराला ‘घन्किसक्यो मादलु’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिका भएकी हुन् । त्यस्तै गायिका जुना श्रीषको माइतीघरको सर्वोत्कृष्ट मौलिक गीत गायिका बन्न सफल भइन् । संगीतकार दिपक शर्मा छोरीको जिन्दगी दुईतिर बोलको गीतबाट सर्वोत्कृष्ट संगीतकार घोषित भएका छन् ।
प्रतिनिधिसभाको उपभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा म्यूजिक खबर तीज म्यूजिक अवार्डकी अध्यक्ष सबिता पोखरेलको सभापतित्व रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको हातबाट गायिका दुर्गा गुरुङ, गायिका मन्जु पौडेललाई संगीत नारीरत्न सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा पत्रकार जयन सुब्बा मानन्धरलाई राष्ट्रिय कला पत्रकारिता विशेष सम्मान प्रदान गरिएको थियो भने खेलाडी नन्दा बस्याललाई राष्ट्रिय खेल विशेष सम्मान प्रदान गरिएको छ ।

यसैगरी, वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठलाई राष्ट्रिय सौन्दर्यकला विशेष सम्मान प्रदान गरिएको छ भने वरिष्ठ गायक कृष्ण कँडेल र निर्देशक बबिता श्रेष्ठलाई राष्ट्रिय कला विशेष सम्मान प्रदान गरिएको छ । त्यस्तै, गायिका सरिता भारती र गायिका सरु गौतमलाई राष्ट्रिय गायन सम्मान प्रदान गरिएको कार्यक्रममा समाजसेवी सुरेशचन्द इनानीलाई राष्ट्रिय समाजसेवी सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा गायिका दुर्गा परियार, गायक रोशन सिंह, मोडल अन्जली अधिकारी र मोडल अन्जु निरौला निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रमलाई पठओ प्रालि, प्रभु बैंक, कामना सेवा विकास बैंक, बिजी मल, चिरायू हस्पिटल लगायतले प्रायोजन गरेका थिए ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्य टीका पुन, वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी, वरिष्ठ गायिका चन्द्रकला शाह, वरिष्ठ संगीतकार, गायक, निर्देशक नारायण रायमाझी, व्यवसायी तथा कलाप्रेमी उज्ज्वलजंग ठकुरी, बीजी मलका संचालक बासु गिरी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ गायिका प्राज्ञ सत्यकला राई, वरिष्ठ गायिका सीता थापा, वरिष्ठ गायिका हरिमाया गुरुङ, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघ नेपालको अध्यक्ष वसन्त वित्यासी थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया