एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टिका दिन सार्वजनिक विदा
अखबार टुडे
प्रकाशित:
२०८०, २६ भाद्र

काठमाडौं । सरकारले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङलाई राजकीय सम्मान दिने भएको छ । साथै, अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने समेत सरकारले निर्णय गरेको छ ।

नेता नेम्वाङको आज बिहान निधन भएको थियो । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिरिषद बैठकले राजकीय सम्मानसहित अन्येष्टि गर्ने निर्णय गरेको हो ।

बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माका अनुसार अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्त्येष्टिको दिन सार्वजनिक बिदा हुनेछ ।

साथै, एमालेले दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ। आज पार्टीको आकस्मिक सचिवालय बैठकले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको हो । साथै औपचारिक कार्यक्रम नगरिने निर्णयसमेत एमालेले गरेको छ। बैठकपछि कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले अत्यन्त दुस्ख, पीडा र शोकका बीचमा आकस्मिक सचिवालय बैठक गरिएको बताए।

प्रतिक्रिया