एन्फाका बहुमत सदस्यले मागे अध्यक्ष र महासचिवको बर्खास्ती, यस्ता छन् १९ आरोप
अखबार टुडे
प्रकाशित:
२०८०, २५ भाद्र

काठमाडौं, २५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ । एन्फामा आवद्ध ४९ सदस्य संघ तथा क्लबले अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन् ।

सदस्यहरूले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत भन्दन बढी सदस्यको हस्ताक्षरसहित विशेष साधारण सभा बोलाउनका लागि निवेदन दिएको बताएका छन् । एन्फाले साधारणसभा नबोलाएमा आफूहरूले साधारण सभा आह्वान गर्ने पनि सदस्यहरूले लेखेको निवेदनमा उल्लेख छ ।

उनीहरूले एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धरासयी बनाउन उद्दत रहेको र उनीहरू पदमा रहे नेपाली फुटबलको भविष्यमा नै क्षति पुग्ने निवेदकको आरोप छ । उनीहरूले अध्यक्ष र महासचिवमाथि १९ आरोपसमेत लगाएका छन् ।

यस्ता छन् १९ आरोप:
१. एन्फा विधानको मर्मविपरित आफ्नो राजनीतिक सहुलियतका लागि भाद्र २४, २०८० का दिन अनलाइनमार्फत विशेष साधारणसभा बोलाउने अवैधानिक निर्णय । एन्फा विधान विपरीत विशेष साधारणसभा गर्न प्रयत्न गरेको तथा शहिद स्मारक लिग खेल्ने बहुमत क्लबहरूले विधानअनुसार साधारणसभा गर्न माग गरेकोमा सोको समेत बेवास्ता गरिएको ।

२. नयाँ आर्थिक वर्ष (आ.व. २०८०/८१) भएको दुई महिना बितिसक्दा पनि एन्फाको विधान, आर्थिक नियामवाली तथा प्रचलित नेपाल कानूनअनुसार साधारण सभाबाट बजेट पास नगरी अनाधिकृत रुपमा बिनाआवश्यक अख्तियारी आर्थिक कारोवार गरेको ।

३. एन्फाको १६औं साधारण सभामा विभिन्न विषयहरुमा असहमति रहँदा रहँदै अवैध तवरले विषय वस्तुहरु पारित भएको घोषणा गरिएको । स्पष्ट बहुमत नपुगेमा त्यस्ता विषयवस्तुलाई मतदानद्वारा निर्णयार्थ प्रस्तुत नगरि पारित गरिएको । अनुपालन समिति, अनुशासन समितिलगायतका स्वतन्त्र समितिका सदस्यहरुको विधानबमोजिम इन्टेग्रिटि परिक्षण नगरेको ।

४. बहुमत कार्यकारी सदस्यहरुले माग गरेको बुँदाहरू कार्य समितिमा छलफल नै नगरिएको वा गर्न नदिइएको ।

५. यसअघिको साधारणसभाबारे पारित प्रस्ताव गरिएको टेक्निकल सेन्टर) गरिएको योजनाहरुलाई (जस्तै पोखरामा प्रस्ताव गरिएको टेक्निकल सेन्टर) आफू अनुकुल गराउन दुराशय राखि आपतकालीन बैठकद्वारा रद्द गर्न कार्य गरेको । साधारणसभाबाट निर्णय भइसकको विषयलाई अन्यथा हुनेगरी कार्यसमितिको आपत्कालिन समितिको बैठकबाट रद्द गरी फिफालाई एन्फाको आधिकारिक निर्णय परिवर्तन भएको जानकारी गराएको ।

६. साधारणसभाबाट नियुक्त हुनपर्ने नीतिगत विषयहरुमा कार्यसमितिबाट स्वेच्छाचारी ढंगबाट निर्णय गरिएको । विधानमा स्पष्ट रुपमा लेखापरीक्षकको नियुक्ति साधारणसभाबाट हुने भनिएपनि कार्यसमितिबाट त्यस्तो नियुक्ति गर्ने निर्णय गरिएको ।

७. नेपाली फुटबल तथा एन्फाको अन्तर्राष्ट्रिय छविमै दाग आउने गरी फिफा विश्वकपं कतारको खेलका टिकटहरु राजनीतिक अनुग्रह प्राप्त गर्नका लागि एएफसी पदाधिकारीलाई अनाधिकृतरूपमा प्रदान गरी भ्रष्ट व्यवहारमा संलग्न भएको।

८. विधानबमोजिम वार्षिक हुनुपर्ने रूपमा साधारणसभा नगरिएको ।

९. शहिद स्मारक लिगको संरचना बिगारेको, लिगहरु सञ्चालन गर्न नसकेको र राष्ट्रिय लिग गर्न नसकेको ।

१०. डिभिजन क्लबहरुको मताधिकार कुण्ठित गरिएको ।

११. नेपाली फुटबललाई धराशायी बनाइएको ।

१२. क्लब एकेडेमी सञ्चालनमा बेवास्ता गरेको तथा ग्रासरूट कार्यक्रम सञ्चालन गर्न नसकेको ।

१३. बुटबल, धरान, च्यासल, रौतहटमा महिला एकेडेमी सञ्चालन गर्न तदारुकता नदेखाएको ।

१४. अवैधरुपमा पदाधिकारी नियुक्त गरी संस्थालाई थप आर्थिक भार पुर्याएको तथा पदाधिकारीहरूलाई सेवासुविधामा आर्थिक वृद्धि गराएको ।

१५. खेलाडी विदेश पलायन हुनबाट रोक्न कुनै पहल नगरेको ।

१६. एएफसीको अनुदानमा सञ्चालन गर्नुपर्ने खेलाडी रिह्याव सेन्टर सञ्चालन गर्न नसकेको ।

१७. महिला लिग तथा प्रतियोगिता सञ्चालन गर्न नसकेको ।

१८. जिल्लाको अनुदान दिन नसकिएको तथा प्रतियोगिता गर्न नसकिएको ।

१९. फिफाबाट आउने पूर्वाधारका लागि प्राप्त अनुदानलाई प्रतियोगिताहरू आयोजनाको लागि रकमान्तर गरिएको ।

प्रतिक्रिया