हिमालय एअरलाइन्स्द्वारा काठमाडौं-छिन्ताओे-काठमाडौं उडान सेवाको उद्घाटन
अखबार टुडे
प्रकाशित:
२०८०, २४ भाद्र

काठमाडौं, २४ भदौ । हिमालय एअरलाइन्स्ले काठमाडौं-छिन्ताओ-काठमाडौं उडान सेवाको उद्घाटन गरेको छ । एअरलाइन्स्ले साताको हरेक आइतबार उडान भर्ने गरी आजबाट उडान थालेको हो ।

एअरलाइन्स्का अनुसार पहिलो आउटबाउन्ड उडान, H9 7220, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ९ः१५मा प्रस्थान गरेको छ । छिन्ताओकोे जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२बजे अवतरण गर्ने एअरलाइन्स्ले जाएको छ । यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ ।पहिलो उडानमा कूल यात्रु संख्या एक सय रहेको छ ।

यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने रद्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ । यस नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानीर चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराँतीले दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको बताउँदै यो उडान सेवाले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्ने बिशवास व्यक्त गरे ।

उनले भने, ‘यस प्रकारको सेवा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण हो । दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडान सेवाले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्नेछ ।यस रुटबाट हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु र यसै अवसरमा म छिन्ताओ बासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु ।’

यस्तै, नेपालका लागि चिनियाँ राजदूत चेङसोङले काठमाडौं–छिन्ताओ–काठमाडौँ उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताए । यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउने र नेपललाई भूपरिवेष्ठितबाट भू–जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्‍याउने उनले बताए ।

एअरलाइन्स्का अध्यक्ष झोउ एनयोङले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन हिमालय एयरलाइन्सका लागि महत्वपूर्ण उपलब्धी भएको बताए । उनले दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको बताए ।

हिमालय एअरलाइन्स्ले यात्रु, व्यवसायी र पर्यटकलाई काठमाडौं– छिन्ताओ–काठमाडौं उडान सेवाको सुविधा लिन आमन्त्रित गर्दै भनेको छ, ‘यात्रुहरूले हिमालय एअरलाइन्स्को टिकटिङ काउन्टर,आधिकारिक ट्राभल पार्टनरहरू र एअरलाइन्स्को वेबसाइट www.himalaya-airlines.comबाट काठमाडौं–छिन्ताओ–काठमाडौं उडानको टिकट बुक गर्न सक्नुहुनेछ ।’

हिमालय एयरलाइन्स्ले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ । एयरलाइन्सले चीनमा पहिलो नियमित उडान सन् २०१९ अक्टोबरमा बेइजिङमा गरेको थियो । कम्पनीले पछिल्ला वर्षमा चीनका विभिन्न १० गन्तव्यमा चार्टर्ड उडान गर्दै आएको छ । कम्पनीले दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बङ्गलादेशलगायत गन्तव्यमा पनि नियमित उडान गर्दै आएको छ ।

प्रतिक्रिया