कोशीमा सबै मिल्ने कि चुनावमा जानेमात्रै विकल्प छ : अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०८०, २३ भाद्र

काठमाडौं, २३ भदौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सबै राजनीतिक दलहरू मिल्ने कि मध्यावधि चुनाव गर्ने भन्ने मात्र विकल्प रहेको बताएका छन् ।

एवंपूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कोशीमा राजनीतिक दलहरू मिलेर गई मध्यावधि निर्वाचनमा हुने खर्च रोक्न सकिनेसमेत बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले कोशी प्रदेशमा देखिएको राजनीतिक समस्याबारे बोल्दै यस्तो धारणा राखेका हुन् ।

जनता र राष्ट्रलाई पर्ने आर्थिक बोझ पर्ने भएकाले सकेसम्म मध्यावधि निर्वाचनमा जान नहुने अध्यक्ष नेपालको भनाइ । उनले भने, ‘कोशीको राजनीतिक जटिलता हल गर्नका लागि दुई वटा उपाय छ कि मिलेर जानु, कि कसैलाई साथ दिनु यति नभए चुनावमा जानु ।’ अध्यक्ष नेपालले चुनावमा गएपनि आफूलाई केही फरक नपर्ने भन्दै भने, ‘अहिले हामीसँग ४ सिट छ, सिट संख्या बढेर दोब्बर, तेब्बर ल्याउन सक्छौं भन्ने विश्वास छ । अरु पार्टीहरूको सात्तो गएको छ ।’

पार्टीलाई हित हुने भएपनि सकेसम्म चुनावमा जान नहुने बताउँदै उनले मुलुकको अर्थतन्त्रलाई ख्यालमा राखेर अहिले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जान नहुने बताए । अध्यक्ष नेपालले भने, ‘हामी जनता र राष्ट्रलाई पर्ने आर्थिक बोझ जुन छ, यो सबै भएकाले सकभर त्यता नगइ कुनै न कुनै उपाय निकालियोस् भन्ने पक्षमा छौं । देशको राजनीतिमा हाम्रो ध्यान छ ।’

गठबन्धनको सरकार गठन गरिएपनि कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था नरहेको र सभामुखजस्तो पद विवादमा परिरहेको बचाउँदै अध्यक्ष नेपालले भने, ‘हामीले गठबन्धन सरकार बनाएका छौं । सबै प्रदेशमा गठबन्धन बनाउँदै जाँदा अहिले कोशीमा सुन्नुभयो तपाईंले, यसबीचमा कति वटा सरकार बनिसके । एउटा मुख्यमन्त्री थिए, उनले राजीनामा दिए फेरि अर्को समस्या बनाउन समस्या भयो, अर्को बन्यो फेरि त्यो ढल्यो, फेरि अर्को बने । यही सिलसिलामा कतिसम्म चल्ने हो ? सभामुखबाटै मान्छे भागाभाग भइरहेको छ । सभामुखले राजीनामा दिएपछि उपसभामुखले पनि राजीनामा दिएर भाग्ने स्थिति भइरहेको छ ।’

प्रतिक्रिया