कोहली, पान्ड्या र द्रविडले नेपाली खेलाडीलाई लगाइदिए मेडल
अखबार टुडे
प्रकाशित:
२०८०, १९ भाद्र

काठमाडौं, १९ भदौ । भारतीय तथा विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर विराट कोहली, हार्दिक पान्ड्या र मुख्य प्रशिक्षक राहुल द्रविडले नेपाली खेलाडीलाई मेडल लगाइदिएका छन् । भारतसँगको खेलपछि नेपालका आसिफ शेख, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीलाई ह्याप्पी ड्रेसिङ रुमको मेडल लगाइदिएको हो ।

भारतका स्टार ब्याटर कोहलीले आसिफलाई, अलराउण्डर हार्दिकले सोमपाललाई र प्रशिक्षक द्रविडले दीपेन्द्रलाई मेडल लगाइदिएका थिए । भारतकै ड्रेसिङ रुपमा गएर मोन्टीले नेपाली खेलाडीलाई उक्त अवार्ड दिन लगाएका थिए । सो क्रममा प्रशिक्षक मोन्टीले सोमपाललाई स्टार अलराउण्ड र दीपेन्द्रलाई स्टार फिल्डरको रुपमा चिनाएका थिए ।

मोन्टी देशाई गत माघमा नेपालको मुख्य प्रशिक्षक बनेर आएपछि ह्याप्पी ड्रेसिङ रुम ट्याग चालाउँदै आएका छन् । ह्याप्पी ड्रेसिङ रुममा राम्रो खेल्ने खेलाडीलाई अवार्ड दिइने गरिन्छ । खेल मात्रै होईन मैदान बाहिर रहेर योगदान दिने खेलाडीले पनि यस अवार्ड पाउने गर्दछन् ।

पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको अर्धशतक र सोमपाल कामीको ४८ तथा कुशल भुर्तेलको ३८ रन मदतमा भारत विरुद्ध २३० रन बनाएको थियो ।

वर्षाले पटक पटक प्रभावित खेलमा भारतले डीएलएस मेथडमा २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको थियो र विना क्षती १४७ रन बनाएर पूरा गरेर खेल जित्यो पनि । नेपालका बलरले भारतका कुनै पनि खेलाडीको विकेट लिन नसके पनि सबैतिर प्रशंसा भने भइरहेको छ ।

प्रतिक्रिया