२४सै घण्टा सञ्चालनमा आयो ‘हेलो सरकार’, कसरी टिपाउने आफ्ना गुनासो ?
अखबार टुडे
प्रकाशित:
२०८०, १७ भाद्र

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् ।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकामा विस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेलको नेटवर्क बाटसमेत गुनासो राख्न सकिनेछ । गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एपलगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ ।

हेलो सरकारको डेस्कले प्राप्त गुनासो तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ । हेलो सरकार २४सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीन जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।

हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन पनि हुनेछ ।

गुनासोहरू सम्बोधनका निम्ति ‘¥यापिड रेस्पोन्स टिम’समेत गठन गरी कायाएन्वयनमा ल्याइएको मुख्यसचिव डा वैकुण्ठ अर्यालले जानकारी दिए । उक्त टिमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जनताका समस्यालाई गम्भीरतापूर्वक लिइ समाधान गर्न निर्देशन दिएका छन् । उनले जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुने बताए ।

सार्वजनिक निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्राप्त जनगुनासोलाई शीघ्र सम्बोधन गर्न तथा जनताको जिज्ञासा समाधान गर्ने र सुझाव लिने कार्यमा सरकार सदैव क्रियाशील रहनुपर्ने उनको भनाइ थियो ।

हेलो सरकारसँग प्रत्यक्ष आबद्ध भई सार्वजनिक सरोकारका विषयमा आफ्ना गुनासा, जिज्ञासा कुनै पनि समयमा राख्न र नीति निर्माणका विषयमा रचनात्मक सुझाव तथा सूचना उपलब्ध गराउन तथा सञ्जाल सदस्य बन्न र अन्तरक्रिया गर्न आमजनसमुदायमा प्रधानमन्त्रीले विशेष अनुरोध गरेका छन् ।

प्रतिक्रिया