हामी सबै कम्युनिस्ट जोडेर जान्छौँ : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०८०, १५ भाद्र

पोखरा, १५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरू एक ठाउँमा हुन आवश्यक रहेको बताएका छन् । शुक्रबार पोखरामा समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई मोर्चामै सीमित नराखी सबै कम्युनिस्टलाई जोडेर जाने सपना रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो सपना समाजवादी मोर्चासँग मात्र सीमित रहँदैन, सबै कम्युनिस्ट जोडेर जान्छौँ । राष्ट्रवादी, देशभक्त र समाजवादतर्फ आस्था राख्नेलाई जोडेर एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्य राखेका छौं ।’ उनले आगामी दिनमा देशको नेतृत्व कम्युनिस्टले नै गर्ने समेत दावी गरे ।

एकता, संघर्ष र रूपान्तरण नै समाजवाद भएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘समाजवादको नयाँ यात्रामा उभिन चाहन्छौं ।’
उनले मोर्चा विगतको जस्तो कमजोर नरहेको समेत बताए । समाजवादी मोर्चा लामो समयसम्म चल्नेगरी बनाएको बताउँदै उनले मोर्चा तत्काल पार्टी एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सुशासनतर्फ राम्रो काम भएको भन्दै सत्ता गठबन्धन पनि यसतर्फ सकारात्मक रहेको बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बन्दा खस्कँदो अर्थतन्त्रलाई उकास्न मौद्रिक र वितीय नीतिमार्फत संकटलाई समाधान गर्नतर्फ केन्द्रित रहेको बताए ।

प्रतिक्रिया