राष्ट्र, राष्ट्रियता र मुलुकको स्वाभिमान जोगाउन मोर्चा नयाँ संकल्पसहित अगाडि बढेको छ : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०८०, १४ भाद्र

सुर्खेत, १४ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताएका छन् । सोक्रममा उनले आफ्नो समग्र जीवन राष्ट्र र जनाका लागि समर्पण गर्नेेसमेत बताए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा बिहीबार आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि समाजवादी मोर्चा गठन भई यसले आफ्नो अभियान थालेको बताए । उनले भने, ‘राष्ट्र, राष्ट्रियता र मुलुकको स्वाभिमान जोगाउन मोर्चा नयाँ संकल्पसहित अगाडि बढेको छ । यो यात्रा मोर्चाको आन्दोलन हो ।’

समाजवादी मोर्चाको सन्देश सभामा सहभागीहरु

क्रान्तिकारीहरूलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढङ्गले अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुक र नेपाली जनतालाई केन्द्रविन्दुमा राखेर कम्युनिष्टहरूले आन्दोलनलाई गन्तव्यमा पुर्याउनुपर्नेमा जोड दिए । कम्युनिष्टहरूको नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका भएको बताउँदै उनले समाजवादी मोर्चा जनताको तागत बनेर आउने जिकिर गरे ।

सम्बोधनका क्रममा उनले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भएको र अब यो नरोकिने प्रतिबद्धता व्यक्त गरे । ‘सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ’ उनले भने ‘यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।’ उनले जनताको सुख, मुलुकको समृद्धि, आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिका लागि मोर्चा अपरिहार्य आवश्यकता भएको समेत बताए ।

समाजवादी मोर्चाको अभियानले हिजोको सामन्ती राज्यका अवशेषलाई समाप्त पार्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा बनाउँदा अरुभन्दा आफू बढी खुसी भएको बताए । सोही क्रममा उनले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गर्दैै परिवर्तनको पक्षमा अग्रसर भई राम्रा काम गर्दा हटाउँछु भन्नेलाई हटाएर देखाउन चुनौती दिए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने कुरा मिथ्या भएको बताए । उनले माओवादी र आफू नै त्यस्तो विषय आएपनि छोड्न नहुनेमा जोड दिए । उनले सरकारले राम्रो काम गरेको प्रतिक्रियावादी र दलालहरूलाई सह्य नभएको समेत जिकिर गरे ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाले कम्युनिष्ट आन्दोलनलाई बचाउने क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे । मुलुकलाई आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि मोर्चा आवश्यक भएको उनले जनाए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले समाजवादी मोर्चाका कारण सरकार ढल्छ कि भन्ने आकलन गरिए पनि कुनै पनि हालतमा यो सरकार नढल्ने दाबी गरे ।

कम्युनिष्टहरू मिल्दा गठबन्धनभित्रको दल नेपाली कांग्रेसको मनमा चिसो नभई तातो पसेको बताउँदै उनले भने, ‘मोर्चा बन्दा कांग्रेसलई चिसो पस्यो कि भन्ने आकलन गरिएको छ । त्यो गलत हो, बरु वर्तमान सरकार जोगाउन यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ । एकतामा शक्ति मिल्ने र शक्तिमा तागत जुट्ने भएकाले समाजवादी शक्तिहरू एक ठाउँमा आइपुगेका छन् ।’

यस्तै, सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रतिगामी शक्ति र प्रतिक्रान्तिकारीहरूले कम्युनिष्टलाई देखी नसहेको आरोप लगाए । क्रान्तिलाई पूर्णता दिएमात्र प्रतिक्रान्तिकारी ध्वस्त हुने उनको भनाइ थियो ।

आजको संसदीय व्यवस्था रहेसम्म मुलुकमा स्थिरता, स्वाधीनता, शान्ति, समृद्धि सम्भव नहुने भन्दै उनले अब नेपाली विशेषताको समाजवाद ल्याउने दिशामा जानुपर्नेमा जोड दिए । नेपालको रातो झण्डा र समाजवादी व्यवस्था स्थापनाका लागि थालिएको अभियान सम्राज्यवादीहरूले नरुचाएको जनाउँदै उनले अब मोर्चाको संरक्षण गर्दै त्यसलाई अगाडि बढाउने युगीन कार्यभार आफूहरु रहेको बताए ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारी परिषद् सदस्य प्रकाश अधिकारीले विभिन्न ऐतिहासिक आन्दोलनसहित हजारौँ सहिदको बलिदानबाट प्राप्त संघीय गणतन्त्रात्मक व्यवस्था आइपुग्दा पनि मुलुक अप्ठ्यारो अवस्थामा पुगेको र उक्त समस्या समाधानका लागि समाजवादी मोर्चा गठन भएको बताए । यसका लागि कम्युनिष्टहरूले न्यूनतम साझा समझदारीका आधारमा समाजवादी मोर्चा गठन गरी राजनीतिक स्थिरता, शान्ति, समृद्धि र विकासलाई केन्द्रमा राखेर समाजवादको यात्रा तय गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया