जातीय घृणाका कारण अमेरिकामा तीन जना अश्वेतलाई गोली हानेर हत्या
अखबार टुडे
प्रकाशित:
२०८०, १० भाद्र

काठमाडौं, १० भदौ (एजेन्सी) । जातीय घृणाले प्रेरित एक जना गोराले फ्लोरिडास्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना अश्वेतलाई गोली हानेर हत्या गरेका छन् । प्रहरीसँगको झडपपछि उनले आफ्नो पनि ज्यान लिएको अधिकारीहरूले बताएका छन् ।

‘आक्रमणकारीले कालो वर्णका मानिसहरूको समूहलाई निशाना बनाएका थिए । उसको परिवारका सदस्यले फेला पारेको घोषणापत्रमा पनि उनीहरूलाई मार्न उसले गरेको घृणित दृढनिश्चयको विवरण छ,’ कानुन कार्यान्वयन कार्यालय ज्याक्सनभिलका प्रमुख टीके वाटर्सले २० वर्षीय आक्रमणकारीबारे जानकारी दिँदै बताए ।

विशेषतः अश्वेतहरू अध्ययन गर्ने राज्यको ऐतिहासिक एडवर्ड वाटर्स विश्वविद्यालय नजिक भएको उक्त घटनामा विश्वविद्यालयका कसैलाई हानी नभएको जनाइएको छ । आक्रमणकारी केही दिनअघि विश्वविद्यालय परिसरमा देखिएको थियो ।

आक्रमणको अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार आक्रमणकारीको कुनै आपराधिक वा अन्य सङ्गठित संस्थासँग कुनै संलग्नता नरहेको प्रारम्भिक अनुसन्धानबाट पुुष्टि भएको छ । अब केन्द्रीय जाँच ब्युरो (एफबिआई)ले घटनाको विस्तृत अनुसन्धान गर्नेछ । आक्रमाणकारी एक्लैले उक्त घटना गराएको हो ।

प्रतिक्रिया