ओली भन्छन्- कोशीमा प्रचण्ड र माधव साँढे जुधाएझैँ जनतालाई जुधाइरहेका छन्
अखबार टुडे
प्रकाशित:
२०८०, ७ भाद्र

काठमाडौं, ७ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको आरोप लगाएका छन् ।

भक्तपुरमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने काम गरिरहेको बताएको दावी गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन् । पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् ।’ जातियताका नाममा उफ्रनेहरू किरात, राई लिम्बु भएको भन्दै ओलीले भने, ‘उफ्रने उनीहरू छन्, उफार्ने पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन् ।’

कोशीमा प्रचण्ड र माधव नेपालहरूले नुवाकोटमा साढे जुधाएझैँ जनतालाई जुधाइरहेको आरोप लगाए । उनले भने, ‘साँढेको केही दुस्मनी हुँदैन । तर जुधाएर साँढेको सिङ भाँच्चिन्छ भनि ताली पड्काउँछन् । जनजातिका नाममा प्रचण्ड र माधवले साँढे जुधाइरहेका छन् ।’

उनले विखण्डनवादलाई राष्ट्रिय एकताको भावले जित्ने भन्दै जनतालाई अन्यायको राज हुन नदिने बताए । ओलीले भने, ‘अन्यायको राज गर्न खोज्छ कसैले भने हामीले प्रतिवाद गर्नुपर्छ ।’ कसैले कानुनको राज नगरेर बलजफती जनता दबाएर अन्यायको राज लाद्न खोज्छ भने त्यतिबेला हामीले प्रतिवाद गर्नुपर्छ ।’

अध्यक्ष ओलीले राष्ट्रको सार्वभौमसत्ता विपरीत र राष्ट्रको स्वाधीनताविपरीत कसैले काम गर्छ भने त्यसलाई असफल बनाएरै छाड्ने बताए । अध्यक्ष ओलीले भने, ‘हाम्रो भूगोल टुक्रिन हुँदैन । सग्लो देश हामीलाई चाहिन्छ त्यो हामी कायम गरेर छोड्छौ । विश्वले हामीलाई बहादुर भन्छ । तर आफ्नै देशको सार्वभौमसत्ता जोगाउन सक्दैनौ भने जागिरे बहादुरी के काम ?’

प्रतिक्रिया