त्रिशूली नदीमा बस दुर्घटना अपडेट : ज्यान गुमाउने आठै जनाको सनाखत
अखबार टुडे
प्रकाशित:
२०८०, ७ भाद्र

काठमाडौं, ७ भदौ । त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका आठै जनाको सनाखत भएको छ । बुधबार बिहान काठमाडौंबाट वेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेछहरामा सडकबाट त्रिशुली नदीमा खसेको थियो ।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले सबै मृतकहरूको सनाखत भएको जानकारी दिए । मृतकहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका–६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका–५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल छन् ।

चालक र सहचालक गरी बसमा २५ जना सवार थिए । तीमध्ये बाग्लुङ गलकोटका ६८ वर्षीया बुढामगर सामान्य उपचार गरी डिस्चार्ज भएका छन् भने बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का ३४ वर्षीय रोशन तामाङलाई सकुशल उद्धार गरिएको थियो ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरूलाई काठमाडौं ल्याई विभिन्न अस्पताल भर्ना गरिएको छ। एसपी गौतमका अनुसार नौ जनाको ट्रमा सेन्टर, चार जनाको वयोधा हस्पिटल, एक जनाको मेडिसिटी र एक जनाको बिएन्डबी अस्पालतमा उपचार भइरहेको छ ।

प्रतिक्रिया