साढे ६१ किलो सुन प्रकरण छानबिन गर्न आयोग गठन गर्ने दलहरूबीच सहमति
अखबार टुडे
प्रकाशित:
२०८०, ६ भाद्र

काठमाडौं, ६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६१ किलो सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्न सरकार र प्रतिपक्षी दलहरूबीच सहमति जुटेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता र प्रतिपक्षका ७ दलबीच सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा जाँचबुझ आयोग गठन गर्ने सहमति जुटेको हो ।

‘सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, सुधार, पटकपटकका सुन तस्करीका छानबिन अनुसन्धान बारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गरी असोज ५ गतेदेखि आयोगले काम प्रारम्भ गर्नेछ,’ सहमतिमा लेखिएको छ।

२ बुँदे सहमतिमा ७ दलका सचेतकहरूले हस्ताक्षर गरेका छन् । सहमतिमा दलका प्रमुख सचेतकहरू रमेश लेखक, पदम गिरी, हितराज पाण्डे, सन्तोष परियार, ज्ञानबहादुर शाही, प्रदीप यादव र अब्दुल खानले हस्ताक्षर गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै गत साउन १० गतेदेखि सदन अवरूद्ध गर्दै आएको छ । आज सहमति भएसँगै संसद अवरोध पनि हट्ने भएको छ ।

प्रतिक्रिया