सुदिल शाही भन्छन्- राजनीतिमा जस्तै टिटी खेलमा पनि माहिर छन् प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, ६ भाद्र

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिमा मात्र होइन, खेलकुदमा पनि उत्तिकै सक्रियता र चासो राख्छन् । प्रचण्ड हाइस्कूल पढ्दा फुटबल खेल्थे । हाइस्कूल सकेपछि भलिबल खेले । बिएस्सी पढ्दा टेबल टेनिस (टिटी) खेल्न थालेका प्रचण्ड अहिले पनि टिटीमा रमाउँछन् ।

शान्ति सम्झौतापछि खुला राजनीतिमा आएका प्रचण्डले नयाँ बजार काठमाडौंको डेरामा पनि टिटी बोर्ड राखेर खेल्न सुरु गरेका थिए । त्यसपछि उनले प्रधानमन्त्री हुँदा पनि टिटी छाडेनन् ।

बालुवाटारमा टिटीका लागि छुट्टै घर बनाएर उनी दैनिक बिहान टिटी खेल्थे । योक्रम लाजिम्पाट निवास हुँदै अहिले ललितपुर खुमलटारमा पनि जारी छ । सुदिल शाही प्रचण्डलाई टिटी सिकाउन र सँगै खेल्न बिहानै प्रचण्ड निवासमा जान्थे । जाडो महिनामा ६ः०० बजे र गर्मीमा ५ः३० बजे नियमित सुदिल प्रचण्ड निवासमा पुगिसक्थे । त्यतिबेला प्रचण्ड पनि खेल्नका लागि तयार भइसकेका हुन्छन् ।

‘प्रचण्डको टिटीमा विशेष दख्खल छ । प्रशिक्षकको हिसावले पनि मलाई उहाँ अब्बल खेलाडी लाग्छ । टेनिस र राजनितिमा केही समानता छन् । टिटीमा बल हान्न ‘क्वीक डिसिजन’ लिनुपर्छ । सायद राजनीतिमा पनि त्यस्तै डिसिजन चाहिन्छ होला । उहाँमा ‘राइट टाइम राइट डिसिजन’ लिने क्षमता छ, टिटीले नै गर्दा होला । जस्तोसुकै व्यस्तता भएपनि उहाँ हरेक बिहान टिटी खेलेरमात्र दैनिकी सुरु गर्नुहुन्छ । कुनै बाध्यात्मक अवस्थाबाहेक उहाँले टिटी नखेलेको दिन हुन्न । मैले जस्तै प्रचण्डलाई कमल थापामगर (असई)ले पनि टिटीका लागि सुरु देखि नै साथ दिँदै आउनुभएको छ,’ प्रशिक्षक सुदिल भन्छन् ।

टिटी खेलले प्रचण्डको युरिक एसिड रोग पनि निको भएको छ । खेल्न थालेपछि नरोकिइकन ४५ मिनेट लगातार खेल्छन् । ‘खेलेर असिन पसिन भएपनि उहाँमा थकाइको कुनै भान पाइन्न । खेल सुरु गरेदेखि नसकुन्जेल लगातार खेलिरहनु ठूलो कुरा हो । खेलका क्रममा प्रचण्डको हाउभाउ अन्तर्राष्ट्रिय खेलाडीको भन्दा कमी हुन्न । दिनभर प्रचण्डलाई जागरुग बनाउने काम टिटीले नै गर्छ । खुशीसाथ खेल्ने उहाँको बानीले मलाई समेत लोभ्याउँछ,’ प्रशिक्षक सुदिल भन्छन् ।

टिटीमा प्रचण्डसँग जोडिन पाउनु आफ्ना लागि जीवनकै ठूलो कुरा भएको सुदिलको बुझाइ छ । ‘बोर्डमा हारजीतको लडाइँ रमाइलो हुन्छ । प्रचण्डको खेल्ने क्षमता बेजोडको छ । उमेरले ६७ बर्ष लागेपनि उहाँको प्रदर्शन कुनै चर्चित भेट्रान्स खेलाडीको भन्दा कम छैन,’ सुदिलले भने । प्रधानमन्त्री हुँदा प्रचण्डले पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी अरिफ खानसँग टेबुल टेनिस खेलेको फोटो विश्वभरि फैलिएको थियो ।

ललितपुर, पुल्चोकका रैथाने सुदिल शाही टेबलटेनिस (टिटी)का अब्बल खेलाडी मात्र नभई खेल क्षेत्रमा सक्रिय सुदिलको पछिल्लो परिचय नेपाली राजनीतिका केन्द्रविन्दु एवं माओवादीका अध्यक्ष प्रचण्डका टेबुल टेनिस प्रशिक्षकका रुपमा रहेको छ ।

कीर्तिपुर, काठमाडौंको लेबोरेटरी स्कुल पढेका सुदिल बाल्यकालमा भने फुटबलका पारखी थिए । तर, कक्षा ९ मा पुगेपछि उनले फुटबल छाडे । यसको कारणबारे उनी भन्छन्, ‘टिम गेममा एउटाको मात्र मिहेनतको अर्थ नहुने ।’ बरु एक्लैले गर्न सक्ने खेलमा लाग्ने सोच उनमा पलायो । लेबोरेटरी स्कुल पनि खेलमैत्री थियो । विभिन्न खेल खेल्न पाउने भएकोले सुदिलको ध्यान फुटबल मैदानबाट टेबुल टेनिसमा बोर्डमा मोडियो ।

सुदिल कक्षा ९ पढ्दा बालदिवसको अवसरमा खेलकुद प्रतियोगिता आयोजना भएको थियो । उनी पहिलो वर्ष नै टेबुल टेनिसमा च्याम्पियन भए । कक्षा १० मा पनि उनी टिटीमा एक्लो विजेता बने । त्यसपछि उनले टिटीलाई नै अँगाले । २०४३ सालमा राष्ट्रिय जुनियर च्याम्पियन बनेपछि सुदिलले टिटी बोर्डबाट आफुलाई पछाडी फर्केर हेर्नुपरेको छैन । विद्यालयदेखि स्नातकोत्तर (एमए)सम्म पढाइ र टेबुल टेनिस खेललाई सँगै अगाडि बढाएका थिए ।

१५ वर्ष राष्ट्रिय टोलीबाट खेलेका उनले टिटी खेलमा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय उपाधि हात पारेका छन् । खेलाडी हुँदै उनी टिटीका प्रशिक्षक, ब्यवस्थापक, ललितपुर जिल्ला टिटी संघका अध्यक्ष, टिटी संघको केन्द्रीय सदस्य र हाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्यको रुपमा सक्रिय छन् ।

सुदिल टेबुल टेनिस खेलका कुशल प्रशिक्षक पनि हुन् । २०५८ सालदेखि प्रशिक्षकको रुपमा सक्रिय सुदिल विगत आठ बर्षदेखि ललितपुर जिल्ला टिटी संघको अध्यक्ष छन् ।

ललितपुर जिल्ला टिटी खेलको लागि नेपालको नमुना जिल्ला हो । हालै सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा मात्र ललितपुरका पाँच जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सुदिलकै अग्रसरतामा ललितपुरमा तीन वटा टिटी एकेडेमी सञ्चालित छन् । उनले एभीएम टिटी क्लब स्थापना गरी नियमित ६० जना खेलाडीलाई अभ्यास र प्रशिक्षणको व्यवस्था पनि गरेका छन् ।

त्यसैले ललितपुरबाट धेरै टेबुल टेनिस खेलाडीहरु उत्पादन भएका हुन । ललितपुरका खेलाडीले राष्ट्रिय टोलीमा समेत योगदान पु¥याएका छन् । टेबुल टेनिस खेलको लगावका कारण १३औँ सागमा सुदिल टेबुल टेनिस खेलको संयोजक बनाइएका थिए ।

लैनचौर काठमाडौंस्थित लथालिङ बनेको लथालिङ बनेको प्रशिक्षण केन्द्रलाई सागमा खेल्न योग्य बनाए । भौतिक पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा सक्रिय सुदिल शाही साग टेबुल टेनिसमा नेपालले ऐतिहासिक उपलब्धि हात पारेपछि खुशी भएका छन् । ‘यस पटक हामीले एक रजत र पाँच वटा काँस्य पदकबाट सम्मान हुनु पाउँदा ज्यादै नै खुशी भएका छन । नेपाली टेबुल टेनिसमा यो अहिले सम्मकै ठूलो उपलब्धि हो । सागका लागि मैले गरेको मिहेनत काम लाग्यो जस्तो लाग्छ । २० वर्षअघि बनेको टेबुल टेनिस हललाई सागको मुखैमा आएर खेल्न योग्य बनाउनु कम चुनौतीपूर्ण थिएन’ ५१ वर्षीय सुदिल शाही भन्छन् ।

सुदिललाई सागमा सक्रिय बन्न आठौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको संयोजकको जिम्मेवारीले सहज बनायो । नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदका लागि सुदिलले गण्डकी प्रदेशको कमाण्ड सम्हालेका थिए । चितवनमा १३ जिल्लाको छनोट प्रतियोगिता गरेर आठौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्नमा उनको भूमिका उल्लेख्य थियो । चितवनमा उद्घाटन गरिएको छनोट खेल नुवाकोटमा सम्पन्न भएको थियो । आठौँ राष्ट्रिय खेलकुदमा ३ नम्बर प्रदेश तीन वटा विभागीय टोलीपछि समग्रमा चौथो भएको थियो ।

पाँच वर्षअघि माओवादी नेतृ कमला रोक्का युवा तथा खेलकुदमन्त्री बनिन् । कमलासँग सुदिल शाहीको राम्रो चिनजान थियो । कमलाले सुदिललाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पनि टेबुल टेनिस खेल्छन् भनेर सुनाएकी थिइन् । २०७१ साल भदौमा सुदिलका साथी महेन्द्रबहादुर शाही (कर्णाली प्रदेशका मुख्यमन्त्री)ले सुदिललाई प्रचण्डसँग भेट गराए ।

प्रचण्डसँगको पहिलो भेटमै सुदिलले प्रचण्डलाई ‘तपाईं टिटी खेल्नु हुन्छ रे नि’ भनेर प्रश्न गरे । टिटीका नियमित खेलाडी प्रचण्डलाई सुदिलको त्यही प्रश्नले आकर्षित ग¥यो । सुदिलले पनि आफु टिटीका खेलाडी र प्रशिक्षक भएको सुनाए । त्यही दिनदेखि प्रचण्डले सुदिलसँगै टिटी खेल्ने निर्णय गरेका थिए ।

सुदिलका अनुसार प्रचण्डले भेट भएको भोलिपल्ट बिहानसँगै टिटी खेल्न अनुरोध गरे । प्रचण्डले टिटी खेल्न बोलाएको त्यस रात सुदिललाई निन्द्रा लागेन । ‘साथीको सहायतामा पहिलोपटक भेट्न पाएको यति ठूलो मान्छेले सँगै टिटी खेल्न बोलाउँछन् भन्ने मेरो कल्पनामा थिएन । यत्रो जनयुद्ध गरेर आएको मान्छे । राष्ट्रि«य राजनीतिको पावर सेन्टर । नेपाली राजनीतिको मुख्य खेलाडीसँग टिटी खेल कसरी खेल्ने होला भन्ने खुल्दुली रातभर भयो । भोलिपल्ट बिहानै उठेर प्रचण्ड निवास लाजिम्पाट पुगेँ । मनमा खुल्दुली र हल्का डर थियो । तर पनि उहाँको घरमै रहेको बोर्डमा टिटी खेल्यौँ । उहाँ मैले सोचेभन्दा धेरै राम्रो र सहज खेलाडी हुनुहुँदोरहेछ,’ सुदिलले भने । त्यस दिनदेखि सुरु भएको सुदिल र प्रचण्डको टिटी जोडी अहिले पनि निरन्तर जमिरहेको छ ।

प्रचण्डका टिटी गुरु सुदिलले जीवनको अन्तिमसम्म खेलकुदमै लाग्ने अठोट गरेका छन् । टिटी खेलमै पहिचान पाएका उनी अहिले टिटी खेलकै लागि भौतिक संरचना निर्माणमा लागिपरेका छन् । ‘ललितपुरलाई टिटी खेलमा देशकै नमुना बनाएँ । भविष्यमा राम्रा खेलाडी उत्पादन गर्न चितवनमा अन्तर्राष्ट्रि«य स्तरको बहुउद्देश्यीय कभर्डहल निर्माणको तयारीमा छु । यसका लागि जापान, चीन र थाइल्यान्डबाट पनि सहयोग हुनेछ’ सुदिल शाहीले विचार व्यक्त गरेका थिए ।

सुदिल अहिले नेपाल स्पोर्ट्स सोसाइटीका अध्यक्षसमेत हुन् । उनले यही सोसाइटीमार्फत चितवनमा कभर्डहल बनाउन लागेको बताए । त्यसका लागि जग्गा समेत पाइसकेकाले छिट्टै कभर्डहल बनाउने काम सुरु हुनेछ । ‘१३औं साग हतारमा सम्पन्न गर्न कठिन भयो । हाम्रो लक्ष्य अब एसियन र ओलम्पिक गेम्समा कसरी सफलता पाउने भन्नेमा केन्द्रित हुनुपर्दछ । समयमै योजनासहित काम गर्नुपर्छ । जुनियर खेलाडी उत्पादन गर्न सके खेलकुद राम्रो हुने हो । देशका ठूला नेताले खेलकुदमा चासो देखाएको बेलामा हामीले पनि काम गर्न सक्नुपर्छ,’ सुदिलले योजना सुनाएका थिए ।

प्रतिक्रिया