पाँच दिनपछि खुल्यो बेनी-जोमसोम सडक
अखबार टुडे
प्रकाशित:
२०८०, ६ भाद्र

म्याग्दी, ६ भदौ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालनमा आएको छ ।

अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिराका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा शनिबारदेखि सिधा यातायात सञ्चालन हुन सकेको थिएन ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर आज बिहान सडक खुलाइएको जानकारी दिए । सडक खुलेपछि जलथले र दाना क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध भएपछि दानादेखि नारच्याङको घरापसम्म हिलाम्मे सडकमा कष्टपूर्ण यात्रु पैदलयात्रा गर्न बाध्य भएका थिए ।

सडक मर्मतका क्रममा गुँइठेको भीरबाट खसेको ढुङ्गाले चोट लागेर सडक विभागका डोजर अपरेटर नारायण गिरी र सवारी चालक सुभाष कुमाल घाइते भएका आयोजना प्रमुख प्रजापतिले जानकारी दिए ।

आयोजना प्रमुख प्रजापति, इञ्जिनियर विष्णु चापागाइँ, सवारी चालक अजय स्याङ्ताङ, सुपर भाइजर इन्द्रसिंह शेरचनसहितको टोली पहिरो पन्छाउने र सडक मर्मतमा परिचालन भएको थियो ।

गत साउन २४ गते बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सीमा क्षेत्रमा पर्ने बैसरी अँधेरीखोलामा पहिरो खसेर घाइते भएका गाडी चालक अन्नपूर्ण–७ महभीरका ४० वर्षीय लुप्सन शेरपुजाको मृत्यु भएको थियो ।

बैसरीमा १२ दिन अवरुद्ध भएको सडक साउन ३१ गते खुलाइएको थियो । बैसरीको पहिराको समस्या समाधान भए पनि जलथले–दुवारी खण्डमा पहिराले दुःख दिन थालेको छ ।

प्रतिक्रिया