स्पेनलाई उपाधि दिलाएपछि कप्तान कार्मोनाले जब बुबाको निधनको खबर पाइन्
अखबार टुडे
प्रकाशित:
२०८०, ४ भाद्र

काठमाडौं, ४ भदौ (एजेन्सी) । महिला विश्वकपको फाइनलमा आफ्नो देशको जितमा गोल गर्ने स्पेनकी कप्तान ओल्गा कार्मोनाले बुवाको मृत्यु खबर जितपछि मात्रै थाहा पाएकी छन् । ३ दिनअघि नै आफ्नो पिता परलोक भए पनि उनले त्यसबारे खबर विश्वकप जितेपछि मात्रै थाहा पाएकी हुन् ।

लामो समयदेखि रोगसँग लडिरहेका उनका बुवाको निधन शुक्रबार नै भए पनि उनलाई त्यसबारे कसैले बताएको थिएन । ‘मलाई थाहा छ तपाईंले आज राति मलाई हेरिरहनुभएको थियो र तपाईं मप्रति गर्व गर्नुहुन्छ । हजुरलाई शान्ति मिलोस्,’ कार्मोनाले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

कार्मोनाले सन्देशको साथमा आफ्नो पदक चुम्बन गरिरहेको तस्विर राखेकी छिन् । उनले थपेकी छिन्, ‘र, खेल सुरु हुनुअघि मसँग मेरो स्टार थियो । मलाई थाहा छ कि तपाईंले मलाई केही अद्वितीय उपलब्धी हासिल गर्न बल थप्नुभएको छ ।’

स्पेनले फाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १-० गोलले हराएको थियो । स्पेनका लागि निर्धारित समयको २९ औँ मिनेटमा २३ वर्षीया कार्मोनाले निर्णायक गोल गरेकी थिइन् । गोल गर्दा र उपाधि जित्दा कार्मोनाको अनुहारमा उत्साह झल्किन्थ्यो ।

प्रतिक्रिया