गुँला पर्व सुरु : कसरी मनाइन्छ यो पर्व ?
अखबार टुडे
प्रकाशित:
२०८०, ३२ श्रावण

काठमाडौं, ३२ साउन । आजदेखि गुँला पर्व सुरु भएको छ । नेवाः समुदायले मनाउने गरेको गुँला पर्व अर्थात नवौँ महिना पर्व सुरु भएको हो ।

नेपाल भाषामा ‘गुँ’को अर्थ नवौँ र ‘ला’को अर्थ महिना हो । नेवाः समुदायमा पनि विशेषगरी बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गरेका छन् । यो पर्व करिब १ महिनासम्म चल्छ । जुन समयमा बिहानै स्वयम्भू महाचैत्यमा पुगेर दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न जाने गर्छन् ।

साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।

परिक्रमा गर्ने समयमा राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत ९ वटा बाजा बजाउने चलन छ । धार्मिक दृष्टिकोणले यो पर्वसँगै नाग पञ्चमी, पञ्चदान, रक्षाबन्धन जनै पूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछ ।

प्रतिक्रिया