काठमाडौं, ३१ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन गायब पार्दै लैजान खोजेको आरो लगाएका छन् । भन्सार जाँचपास भएर सिनामंगलमा बरामद भएको सुन एक क्विन्टलबाट ६१ केजीमा कसरी झर्यो ? भन्दै ओलीले प्रश्नसमेत गरेका छन् ।
एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफलमा बोल्दै अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन आयोग नबनाउँदा सुन गर्दै गएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘आयोग बन्न नदिँदा एक सय केजी सुन ६१ केजीमा झर्यो । त्यसैले यो आयोग बन्न दिइएको छैन ।’
एमालेले आयोग गठनको माग गर्दै आएको छ । यो माग्र पूरा नहुँदा एमालेले संसद् अवरोध गरिरहेको छ । उनले भने, ‘प्रधानमन्त्रीसँग यो विषयमा कुरा गर्दा ३५ दिन पर्खिनुहोस् भन्नुहुन्थ्यो । त्यतिञ्जेलसम्म कति केजीमा झर्ने हो ?’
अहिले एयरपोर्टबाट दैनिक सुन बगिरहेको दाबी गर्दै ओलीले भने, ‘एयरपोर्टबाट सुन बगिरहेको छ । अरु खुल्ला भन्सारको अवस्था झन् कस्तो होला ?’ उनले सुनमा लगानी गर्ने लगानीकर्ता को हो भन्दै त्यसको खोजी गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले संकटग्रस्त बनेको अवस्थामा उद्योग व्यवसायीका लागि सरकार सहयोगी नभएको समेत बताए । उनले उद्योग व्यवसाय जतिबेला संकटग्रस्त छ, मोचनका लागि सरकार चाहिने तर सरकार सहयोगी नभएको भन्दै आरोप लगाए ।
अध्यक्ष ओलीले भने, ‘अहिलेको सरकार सहयोगी छैन । उद्योग बन्द छन्, अप्ठ्यारोमा छन् सरकारलाई मतलब छैन ।’ उनले उद्योगधन्दा सकसमा पर्दा सरकारले सहजीकरण गर्नुपर्ने बताउँदै उद्योगी व्यवसायीका समस्या समाधानका लागि सदनमा सरकारसँग नीतिगत डिलमा एमालेले सशक्त भूमिका निभाउने बताए ।
उनले सरकारसँग प्रश्न गर्दै भने, ‘भूकम्पबाट सामना गरेर भर्खर तंग्रेका थियाैँ, कोभिडले थिलथिलो पार्याे । संकटबाट थिग्रेर धुलो टक्कटक्याउँदै हिँड्ने तयारी छैन । अर्थतन्त्रको संकटबाट उक्सिन खोई तयारी ?’
सोहीक्रममा ओलीले कांग्रेस सांसद डा. सुनिल शर्माको पक्राउ गरेर सरकारले प्रतिशोधी राजनीति गर्न खोजिएको आरोप लगाए । उनले भने, ‘सुनिल शर्मा एउटा सांसद न पक्राउ पुर्जी, न पुष्टि हुने आरोप यसो चाखिहेरेको कस्तो हुँदोरछ भनेर ?’ अध्यक्ष ओलीले गठबन्धनको सांसद समातेर नाङ्लो ठटाएर हात्ती तर्साएको टिप्पणी गरे