
काठमाडौं, २८ साउन । बंगलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका सात जना पक्राउ परेका छन् ।
बंगलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कार्यालयले आरोपितहरूलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका छ जना बंगलादेशी नागरिकलाई उद्धार समेत गरेको छ । गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न स्थानहरूमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो ।
पक्राउ पर्नेहरूमा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बङ्गलादेश बरिसालका ३७ वर्षीय एमडि मोसिउर, हरिसिद्धि ललितपुर बस्ने बङ्गलादेशी नागरिक ३८ वर्षीय सलिम मियाँ, सिन्धुपाल्चोक बलेफी–६ कि २७ वर्षीया तारा नेपाली, बंगलादेशी नागरिक २१ वर्षीय जहाङ्गीर आलम, काठमाडौं हाडिगाउँ बस्ने बंगलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलाम चुलाचुली–४ कि ३३ वर्षीया रोशनी राई रहेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले जानकारी दिए ।
पीडितहरूमध्ये कालीमाटीडोलमा रहेको मेमोरियल गेष्ट हाउसबाट एमडि नाजमुल, एमडि इयासिन, इब्राहिम हुसैन र एमडि अल अमिनलाई उद्धार गरिएको छ । त्यस्तै, हरिसिद्धिको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
