प्रचण्डले जातीय राज्य दिन्छौं भन्न थाले, कांग्रेसले खेद प्रकट गर्नुपर्छ : शेखर कोइराला
अखबार टुडे
प्रकाशित:
२०८०, २८ श्रावण

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आदिवासी दिवसको दिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बोल्नै नमिल्ने अभिव्यक्ति दिएको भन्दै कांग्रेसले संस्थागतरूपमै खेद व्यक्त गर्नुपर्ने बताएका छन् ।

संसदीय दलको बैठकमा बोल्दै कोइरालाले आदिवासी दिवसमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनकमात्र नभएर खेदजनक समेत रहेकाले कांग्रेसले संस्थागतरूपमै खेद व्यक्त गर्नुपर्ने बताएका हुन् ।

कोइरालाले भने, ‘प्रचण्डजीले माओवादीलाई भोट दिनुस्, जिताउनुस्, जातीय राज्य हामी दिन्छौं भन्नुभयो । त्यो उहाँको पार्टीको कुरा हुन सक्ला, तर उहाँले अहिले आफू गठबन्धन सरकारको प्रधानमन्त्री भएको कुरा पनि भुल्नुहुँदैन । देशको प्रधानमन्त्रीको हैसियतले त्यसरी बोल्न मिल्दैन । यो विषय आपत्तिजनक छ, कांग्रेसले खेद प्रकट गर्नुपर्छ ।’

डा. कोइरालाले सरकारका गलत कामको अपजस कांग्रेसले बोक्न नसक्ने भन्दै आफूले बनाएका प्रधानमन्त्रीलाई पनि स्पष्टीकरण सोध्न सक्नुपर्ने बताए । यस्तै डा. कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गरे । साथै उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया