५२ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ९ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, २६ श्रावण

काठमाडौं, २६ साउन । नेपाल प्रहरीले ५२ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो ।

प्रहरीले काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो । प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको लु१प५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको हो । सोधपुछका क्रममा बसका चालक तथा सहचालकले प्रहरीलाई उक्त कार्टुन लुम्बिनी बसपार्कबाट अचार भनेर पठाएको बताएका थिए ।

त्यसकै आधारमा खोजतलास गर्दा गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मार्दा नोट बरामद भएको हो ।

प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्यसमेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया