भारतीय प्रधानमन्त्री मोदीले मणिपुर हिंसाबारे के भने ?
अखबार टुडे
प्रकाशित:
२०८०, २५ श्रावण

काठमाडौं, २५ साउन । भारतको लोकसभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव असफल भएको छ । बिहीबार ध्वनि मतका आधारमा अविश्वासको प्रस्ताव असफल भएको घोषणा गरिएको हो । सरकारले विश्वासको मत पाएसँगै संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले लोकसभा सदस्य अधिररञ्जन चौधरीलाई निलम्बनको प्रस्ताव अघि सारेका छन् ।

विपक्षी गठबन्धनले मणिपुरमा भएको दुःखद घटनालाई लिएर मोदी सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । प्रधानमन्त्री मोदीले उक्त प्रस्तावको छलफलमा विपक्षी गठबन्धनमाथि कडा प्रहार गरेका छन् । ‘मलाई आशा छ, सन् २०२८ मा अविश्वास प्रस्ताव ल्याउँदा विपक्षी गठबन्धनले अलि बढी तयारी गर्नेछ’ उनले भने ।

मणिपुर हिंसाबारे मोदीले के भने ?

प्रधानमन्त्री मोदीले मणिपुर हिंसाका बारेमा टिप्पणी पनि टिप्पणी गरेका थिए । तर, मोदीले मणिपुरबारे टिप्पणी गर्नुअघि नै विपक्षी सांसदहरू बैठकबाट बाहिरिएका थिए ।

विपक्षी गठबन्धनप्रति मोदीले कठोर निसाना साँधिरहँदा उनीहरू एकसाथ बैठक हलबाट बाहिरिएका हुन् । त्यसपछि भारतीय प्रधानमन्त्रीले विपक्षीहरूले आफ्नो जबाफ सुन्ने धैर्यसमेत नदेखाएको बताएका थिए । त्यसपछि मणिपुरको विषयमा बोलेका उनले मणिपुरको विषयमा मात्रै सरकार छलफल गर्न तयार भएपनि विपक्षीले छलपूर्वक प्रस्ताव ल्याएको दावी गरे ।

‘देश तपाईँको साथमा छ । कोही यहाँ होऊन् या नहोऊन् हामी सबै मिलेर समाधान निकाल्छौँ’ मोदीले भने, ‘मणिपुरमा फेरि शान्ति हुनेछ र त्यहाँ द्रुत गतिले विकास होस् भन्नका लागि कुनै कसर बाँकी राखिने छैन ।’

मणिपुरमा ‘भारत माताको हत्या गरिएको’ भन्ने विपक्षी नेता राहुल गान्धीको टिप्पणीप्रति मोदीले रोष व्यक्त गरे । उनको भनाइ थियो, ‘सत्ता सुखबिना जिउन नै सकिँदैन कि क्या हो किनकि केही मानिसले भारत माताको मृत्युको कामना गरिरहेका छन् ।’
प्रधानमन्त्री मोदीले आफूहरूका लागि उत्तर–पूर्वी भारत ‘मुटुको टुक्रा’ भएको भन्दै कंग्रेसको पुरानो राजनीतिका कारण त्यहाँ समस्या देखिएको बताए ।

राष्ट्रिय गान गाउन रोक लगाइनेदेखि पुस्तकालय जलाउनेसम्मका घटना मणिपुरमा हुँदा कंग्रेसको सरकार रहेको उनको टिप्पणी थियो । राजनीतिको खेल खेल्न मणिपुरलाई प्रयोग गर्न नहुनेमा मोदीले जोड दिए । भारतीय प्रधानमन्त्रीले सम्बोधन सकेपछि उनका समर्थकहरूले ‘मोदी, मोदी’ भन्दै नाराबाजी गरेका थिए ।

यसअघि भारतीय विपक्षी नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीमाथि हिंसा प्रभावित मणिपुरमा ‘भारत माताको हत्या गरेको’ आरोप लगाएका थिए । ‘उनीहरूले मणिपुरमा भारतको हत्या गरेका छन्। उनीहरूको राजनीतिले गर्दा मणिपुरमा भारतको हत्या भयो’ संसद्मा सत्तारुढ भारतीय जनता पार्टीको होहल्ला र आक्रोशबीच उनले बुधबार भनेका थिए ।

बिहीबार संसद्मा बहस सकिएपछि विपक्षी दलहरूले राखेको उक्त प्रस्तावमा मतदानको कार्यसूची रहेको थियो । संसद्मा भारतीय जनता पार्टी र उसका साझेदारहरूको बहुमत रहेकाले मोदीले विश्वास मत प्राप्त गर्ने निश्चित थियो ।

तर, विपक्षी नेताहरूले संसद्को बहसले प्रधानमन्त्री मोदीलाई मणिपुरमा जारी जातीय हिंसाबारे जबाफ दिन बाध्य पार्ने टिप्पणी गरेका थिए । मे महिनाको प्रारम्भबाट सुरु भएको जातीय हिंसामा १५० भन्दा बढीको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएका छन् । त्यहाँ बहुसंख्यक मैतेई र अल्पसंख्यक कुकी समुदायबीच द्वन्द्व भइरहेको छ । प्रधानमन्त्री मोदीले हप्तौँपछि मात्रै उक्त हिंसाबारे सार्वजनिक टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया