जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ : अधयक्ष ओली
अखबार टुडे
प्रकाशित:
२०८०, २५ श्रावण

काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन् । बिहीबार २९औं विश्व आदिवासी दिवसको अवसरमा पार्टीनिकट आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालीकाबीच जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकतालेमात्रै देशको रक्षा हुने बताए ।

पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्नेमा बताउँदे उनले भने, ‘हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीचमा विद्धेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिँदैन । हाम्रो विविधता छ । यो यथार्थ हो ।’

उनले विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा र विकास हुने बताउँदै भने, ‘पहिचानलाई विकृतरूपमा हामीले लिनु हुँदैन । पहिचान सकारात्मक ढंगले लिनुपर्छ । पहिचान देशका हितमा हुनुपर्दछ । देशको हितका लागि पहिचान हो । आफ्नो पहिचान देशमा समस्या खडा गर्नका लागि हाम्रो पहिचानको मुद्दा हो र ?’

अधयक्ष ओलीले पहिचानको मुद्दा समस्या समाधान गर्नका लागि समानता र सद्भावका आवश्यक पर्ने बताउँदै भने, ‘समानता र सद्भाव विभेदका लागि पनि होइन । र, विद्वेषका लागि हुँदै होइन । पहिचानको मुद्दा घृणा फैलाउनका लागि होइन ।’

उनले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै त्यसकारण देशलाई धर्म निरपेक्ष बनाइएको बताए । अन्य मुलुकको तुलनामा नेपालमा आदिवासी, जनजाति र दलित समुदायले अधिकारको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको उनको भनाइ छ ।

प्रतिक्रिया