युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा महिला पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, २३ श्रावण

काठमाडौं, २३ साउन (एजेन्सी) । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा एक महिला पक्राउ परेका छन् । ती महिलाले रूसी योजनामा जेलेन्स्कीको हत्याको षडयन्त्र गरिरहेको आरोपमा युक्रेनी सुरक्षाकर्मीले पक्राउ गरेका हुन् ।

युक्रेनको सेक्युरिटी सर्भिस एसबीयूले एक विज्ञप्तिमा ती महिलालाई रुसीहरूलाई खुफिया जानकारी दिने क्रममा रंगेहात पक्राउ गरिएको बताएको छ । एसबीयूले लगाएको आरोप अनुसार महिलाले माइकोलायेभमा जेलेन्स्कीले भ्रमण गर्नु अघि धेरै खुफिया जानकारी प्राप्त गर्ने प्रयास गरेकी थिइन् ।

एसबीयूका अनुसार सन्दिग्ध महिला ओचाकिवको सानो सहरमा बस्छिन्, जहाँ जेलेन्स्की जुलाईमा गएका थिए । त्यहाँ यी महिला सैन्य आधारमा बनेको पसलमा काम गर्छिन् । ती महिलामाथि हतियार र सैनिकको गतिविधिबारे जानकारी चुहावट गरेको आरोप छ । दोषी प्रमाणित भएमा उनलाई १२ वर्षसम्मको जेल सजाय हुन सक्ने जनाएको छ । रुसले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया