झापा कारागारमा कैदीबन्दीबीच झडप हुँदा आगलागी
अखबार टुडे
प्रकाशित:
२०८०, १९ श्रावण

काठमाडौं, १९ साउन । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । कैदीको सरुवाको विषयमा विवाद बढेपछि झडप भएको हो ।

झडपकै क्रममा कारागारभित्र आगलागी समेत भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरीले जनाएको छ । दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको बताइएको छ।

मनोज लावती नामका कैदीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

कैदीबन्दीले हुलदङ्गा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ । उनीभित्र गएपछि कैदीबन्दीले ढुङ्गामुढा बन्द गरेका हुन् । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

प्रतिक्रिया