पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
अखबार टुडे
प्रकाशित:
२०८०, १९ श्रावण

काठमाडौं, १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

ज्ञानेन्द्रले आजको दिन देखिनै लागू हुने गरि सबै क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । उनले घरेलु क्रिकेट पनि नखेल्ने बताएका छन् । सा् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्ध डेब्यू गरेका ज्ञानेन्द्रले डेढ दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेले ।

सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे । २०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । उनी २०७८ मंसिरसम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए ।

ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् । त्यस्तै, ज्ञानेन्द्रले ४५ टि२० आईमा नेपालबाट १ शतक र २ अर्धशतकसहित कुल ८ सय ८३ रन बनाएका छन् । ज्ञानेन्द्र पछिल्लो समय टोलीमा कम मौका पाउँदै आएका थिए । लगातार कमजोर प्रदर्शनपछि ज्ञानेन्द्रले सन्न्यास लिने निर्णय लिएका हुन् ।

प्रतिक्रिया