आरजुविरुद्धको भ्रामक प्रचार गर्नेलाई कारबाही नगरे प्रतिकारमा उत्रने तरूण दलको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०८०, १९ श्रावण

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले नेता आरजु राणा देउवाविरुद्धको भ्रामक प्रचार नरोकिए प्रतिकार गर्ने चेतावनी दिएको छ ।

तरुण दलका अध्यक्ष विद्धान गुरुङले विज्ञप्ति जारी गर्दै देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुग्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूठा र अनर्गल पोष्ट गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

राजनीतिक पूर्वाग्रह राखी भएको घृणित र अवान्छित मनोवृत्तिका व्यक्ति र समूहहरुलाई तीन दिनभित्र कानुनको दायरामा ल्याउन तरुण दलले गृह मन्त्रालयसँग माग गरेको छ ।

‘सुवास बोहोरा भन्ने नामको टिकटक आईडीबाट माननीय सांसद आरजु राणा देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति प्रकट गर्दै नेपाल तरुण दल केन्द्रीय समिति त्यस प्रकारको व्यक्तिलक्षित भ्रामक कार्यको घोर भत्र्सना गर्दछ । राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवाञ्छित मनोवृत्तिका व्यक्ति वा समूहहरूलाई ३ दिनभित्र कानुनको दायरामा ल्याउन नेपाल तरुण दल केन्द्रीय समिति गृहमन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनलाई जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

तरुण दलको आग्रहलाई बेवास्ता गरी कानूनविपरित कार्यमा संलग्नलाई कारबाही गर्न आलटाल गरे तरुण दल आफैं प्रतिकारमा उत्रने गुरुङले चेतावनी दिए ।

प्रतिक्रिया