सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : सञ्चारमन्त्री रेखा शर्मा
अखबार टुडे
प्रकाशित:
२०८०, १८ श्रावण

काठमाडौं, १८ साउन । सञ्चारमन्त्री रेखा शर्माले सुन तस्करीमाथिको छानबिन भइरहेकाले सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको बताएकी छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको बताएकी हुन् ।

सञ्चारकर्मीको जिज्ञाशामा उनले भनिन्, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा ल्याइएको करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन ।’

वर्तमान सरकार अनियमिता, भ्रष्टाचार, बेथिती, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले विभागले गरेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह गरिन् ।

विगतमा पनि सुन तस्करीको अनुसन्धान गर्न समिति गठन नबनेको दृष्टान्त प्रस्तुत गर्र्दै मन्त्री शर्माले भनिन्, ‘अहिले विभागबाट प्रभावकारी छानबिन भइरहेको छ। सरकार यस घटनाको ‘रुट कज’मा पुग्न लागिरहेको छ। सो विषयमा उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले देखेको छैन ।’ उनले विभागले गरिरहेको अनुन्धानलाई निष्कर्षमा पुग्न दिन आग्रह गरेकी छन् ।

प्रतिक्रिया