काठमाडौं, १८ साउन (एजेन्सी) । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको छ । वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीबीच सम्बन्धविच्छेद भएको हो ।
यसबारे प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘धेरै छलफलपछि हामीले एक अर्काको साथ छाड्ने निर्णय गरेका छौँ । हामी सधैँ जस्तै परिवार नै रहनेछौँ । हामीले एकअर्काको माया र सम्मानका लागि जे गरेका छौँ, गरिरहनेछौँ ।’
प्रधानमन्त्रीको यो पोस्ट उनको श्रीमती सोफिएलले पनि आफ्नो अकाउन्टमा सेयर गरेकी छिन् । प्रधानमन्त्री ट्रुडोले क्यानाडाली जनतालाई यस समयमा आफ्ना बालबालिकाको भलाइका लागि यस मामिलाको गोपनीयतालाई सम्मान गर्न अपिल गरेका छन्। दम्पतीका तीन सन्तान छन् ।
मिडिया रिपोर्टका अनुसार पीएम जस्टिन र सोफीले २८ मे २००५ मा विवाह गरेका थिए । यो जोडी २०२३ को सुरुमा राजा चाल्र्स तृतियाको राज्याभिषेकमा भाग लिन लन्डन गएका थिए । गत मार्चमा पनि सो दम्पतीले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी श्रीमती जिल बाइडेनको ओटावाको आधिकारिक भ्रमणको आयोजना गरेका थिए ।