काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक क्विन्टल सुन तस्करीको छानबिनमा आशंका व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन काठमाडौंको कार्यक्रमा डा. कोइरालाले एक साताअघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पिए रहेका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाएर पठाइनु र अनुसन्धानमा सीआईबी संलग्न नगराइनु गम्भीर विषय भएको भन्दै आशंका व्यक्त गरेका हुन् ।
उभनले भने, ‘राजश्व अनुसन्धान विभाग विगतमा अर्थमन्त्रालय मातहत थियो । केपी ओलीजीको पालामा प्रधानमन्त्री मातहत लगियो । शेरबहादुरजीको पालामा हामीले पटकपटक यो अर्थमै लैजाउँ भनियो तर अहिलेसम्म लगिएन । यो संकेतमात्र गरेको हो बुझ्नुस् । राजश्व अनुसन्धानको डीजी सुन तस्करीको बाहिर आउनुभन्दा १० दिन हो कि एक साताअघिसम्म प्रधानमन्त्रीको पिए थिए । अनुसन्धानमा सीआईबीलाई संलग्न गराइएको छैन भनेपछि यसबाट बुझ्नुस् ।’
कोइरालाले यस्ता काण्डहरू आएका बेला तीनवटा शीर्ष नेताहरू गोप्य छलफलमा बस्ने गरेको बताए । डा.कोइरालले एकपछि अर्को काण्ड बाहिर आउने र माथिल्ला मान्छेहरू तानिएपछि अर्को काण्ड ल्याइने गरेको भन्दै सुनकाण्डमा पनि यही हुनेवाला रहेको बताए ।
कोइरालाले भने, ‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गएर ठ्याक्कै रोकिएको छ, किनकि माथि कोही न कोही मानिसहरु परेका छन् । अब सुन काण्ड पनि सामसुम हुन्छ ।’