प्रचण्डले भने- माओवादी पार्टीजस्तो हुन सकेको छैन
अखबार टुडे
प्रकाशित:
२०८०, १७ श्रावण

काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी जस्तो हुन नसकेको बताएका छन् ।

बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी जस्तो नभएकाले सुदृढीकरणको आवश्यकता औँल्याए ।

यो केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत हुने प्रचण्डको भनाइ छ । ‘हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ’ उनले भने ।

अहिले सरकारका कारण जनतामा आशा पलाएको दाबी गर्दै प्रचण्डले यो बेला संगठन विस्तार गर्नुपर्ने पनि बताए । उनले भने, ‘सरकारका कारण जनतामा आशा पलाएको छ । जनताको भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ । आउने दिनमा एक्सन ओरियन्टेड भएर जानुपर्ने छ ।’ अहिलेको गठबन्धनको सरकार सुशासनको क्षेत्रमा कटिवद्ध भएर लागेको भन्दै प्रचण्डले यसलाई अझ ब्यापक बनाउनुपर्ने बताए ।

केन्द्रीय समितिमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल हुनेछन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया