भारतमा साम्प्रदायिक हिंसा भड्कियो, पाँचको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, १६ श्रावण

काठमाडौं, १६ साउन (एजेन्सी) । भारतको मणिपुर राज्यमा झण्डै तीन महिनायता कुकी जनजाति र मैतेई समुदायबीच हिंस्रक द्वन्द्व चलिरहेको छ । क्रिश्चियन कुकी र हिन्दु मैतेईबीचको यस द्वन्द्वमा सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।

मणिपुरको हिंसा टर्न नपाउँदै यतिबेला फेरि भारतको हरियाणास्थित नूंह जिल्लामा हिन्दु र मुस्लिम समुदायबीच अर्को हिंस्रक द्वन्द्व छेडिएको छ । हिजो सोमबार नुह जिल्लामा हरियाणामा हिन्दु राष्ट्रवादी समूहहरू बजरङ्ग दल र विश्व हिन्दु परिषद्ले आयोजना गरेको एउटा धार्मिक यात्राका क्रममा भिडन्त भएको थियो ।

धार्मिक यात्राका क्रममा स्थानीय मानिसहरूले धार्मिक यात्राका गाडीलाई ढुंगामुढा गरेपछि यो द्वन्द्व सुरु भएको हो । यतिबेला यो घटनामा हालसम्म चार जनाको मृत्यु भइसकेको छ भने २० जना घाइते भएका छन् ।

हरियाणामा सुरु भएको द्वन्द्वका कारण हिन्दु समुदायको भिडले सोमबार राति नै दिल्लीनजिकै रहेको गुरुग्रामस्थित एउटा मस्जिदमा आगजनी गर्दै मस्जिदका इमामको हत्या गरिदिएका छन् । सोमबारको द्वन्द्वपछि दुवै समुदायको भिडले दर्जनौँ सवारीसाधन र स्थानीय पसलहरूमा तोडफोडसमेत मच्चाएका छन् ।

दुई समुदायबीच हिंस्रक भिडन्त भएपछि यतिबेला हरियाणाका शहरमा कफ्र्यु लगाइएको छ । साम्प्रदायिक हिंसा फैलिएका स्थानमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ । सरकारले त्यहाँ बुधबारसम्म इन्टरनेट बन्द गरिदिएको छ । उता नूंहसँग जोडिएको राजस्थानको भरतपुरमा पनि अलर्ट जारी गरिएको छ । त्यहाँका चार इलाकामा पनि इन्टरनेट बन्द गरिएको छ ।

अब यो हिंसा नूंहपछि गुरु ग्रामसम्म फैलिएको छ । नूंह, फरिदाबाद, गुरुग्राम र पलवलमा मङ्गलवार अर्थात् एक अगस्टसम्म सबै शिक्षण संस्था र कोचिङ सेन्टर बन्द हुनेछन् । बोर्डको १० औँ र १२ औँ परीक्षा पनि नूंहमा रद्द गरिएको छ ।

वास्तवमा नूंहमा सोमबार विश्व हिन्दु परिषद्को ब्रज मंडल यात्रामा समुदाय विशेषका मानिसले ढुङ्गा प्रहार गरेका थिए । यसैका कारण हिंसा भड्किएको हो ।

प्रतिक्रिया