आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी, कैद सजाय २७ बर्षमा र्झयो
अखबार टुडे
प्रकाशित:
२०८०, १६ श्रावण

काठमाडौं, १६ साउन (एजेन्सी) । म्यानमारका प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी दिइएको छ । त्यहाँको सैन्य सरकारले सुकीलाई पाँच वटा मुद्दामा माफी दिएको हो ।

पाँच वटा मुद्दामा माफी पाएसँगै सुकीको कैद अवधि २७ वर्षमा झरेको छ । यसअघि विभिन्न मुद्दा लगाएर उनलाई ३३ वर्षको कैद सजाय तोकिएको थियो ।

पछिल्लो केही समयदेखि सैन्य सरकार सुकीप्रति केही लचिलो बन्दै गएको छ । यही हप्ता एक जना विदेशी अधिकारी र देशका सभामुखलाई भेट्न दिएको सैन्य सरकारले सुकीलाई कारागारबाट विशिष्ट व्यक्तिको आवास क्षेत्रमा सारेको छ ।

यस्तै सैन्य सरकारले पूर्वराष्ट्रपति विन मिन्टलाई पनि दुई वटा मुद्दामा माफी दिँदै १२ वर्षको कैद सजाय आठ वर्षमा झारेको छ । यस्तै सैन्य ‘कु’ पछि भएको विद्रोहको क्रममा पक्राउ परेकामध्ये सात हजार आठ सय जना कैदीको सजायसमेत माफी भएको छ ।

म्यानमारको राजधानी नेपोडीमा स्थापना गरेको गौतम बुद्धको विशाल मूर्तिको अनावरण कार्यक्रममा सैन्य सरकारले कैद छुट तथा माफीको घोषणा गरेको हो ।

प्रतिक्रिया