फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालय बनाइने, लागत एक अर्ब
अखबार टुडे
प्रकाशित:
२०८०, १६ श्रावण

काठमाडौं, १६ साउन । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रूपमा विकास गरिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत सङ्ग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि।लाई परामर्शदाता नियुक्त गरिएको छ । ऐतिहासिक जलविद्युत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरूको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरू निर्माण गरिनेछन् ।

काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युतगृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, बाल उद्यानलगायतका संरचनाहरू निर्माण गरिनेछन् । जलविद्युत केन्द्रका संरचनाहरूलाई जीर्णोद्धार गरी सङ्ग्रहालयको रूपमा विकास गरिनेछ ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचनाहरू निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युतगृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिनेछ ।

प्राधिकरणको ३८औँ वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत् केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी हुन पुग्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो ।

मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युतगृहलगायतका संरचाहरुको अवस्थाका बारेमा अवलोकन गरेका थिए ।

फर्पिङ जलविद्युत् केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणा परिवारलगायतमा विद्युत् वितरण गरिएको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत सात लाख १३ हजार रुपियाँ थियो । केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो ।

तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ ।

प्रतिक्रिया