रास्वपाको दबाबमा परेर सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भयो : रवि लामिछाने
अखबार टुडे
प्रकाशित:
२०८०, १५ श्रावण

काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको दबाबका कारण सरकार पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न बाध्य भएको दाबी गरेका हुन् ।

उनले भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरुको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरु पनि भ्रष्टाचार विरोधी अभियानमा लागेको बताए । सभापति लामिछानेले आगामी निर्वाचनसम्म सुशासनको क्षेत्रमा सरकारले केही काम गरे आफ्नो पार्टीका लागि खुशीको कुरा हुने समेत बताए ।

नेपाली जनता आफैँले कोरको समृद्धिको खाकालाई सार्थक बनाउन सुशासनको प्रत्याभूति चाहिने उल्लेख गर्दै उनले त्यसमा सरकारले केही गर्नुलाई आफ्नो पार्टीले गलत अर्थमा नलिने पनि पटकपटक दोहोर्याए ।

सभापति लामिछानेले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरुलाई मतदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको बताए ।

उनले घरघरमा राष्ट्रिय स्वतन्त्र पार्टी पुर्याउने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । सभापति लामिछानेले सुदूरपश्चिमका जनताको अवस्थामा परिवर्तन ल्याउने गरी आफ्नो पार्टी अघि बढ्ने आश्वासन समेत दिए ।

प्रतिक्रिया