अदालतको अवहेलना मुद्दामा एसएसपी कार्की र एसपी बस्नेतले पाए क्षमादान
अखबार टुडे
प्रकाशित:
२०८०, १४ श्रावण

काठमाडौं, १४ साउन । अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की र एसपी रमेश बस्नेतले क्षमादान पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय ईश्वर खतिवडा र कुमार चुडालको आइतबारको संयुक्त इजलासले उनीहरूलाई क्षमादान दिएको हो ।

१२ वर्ष अघि तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसला कार्यान्वयन नगरेको भनी सर्वोच्च अदालतले उनीहरुलाई १५ दिन कैद र ५ हजार जरिवानाको कैद प्रस्ताव गरेको थियो । तर फैसला कार्यान्वयन गरेमा प्रस्ताव गरेको कैद र जरिवाना मिनाहा हुनसक्ने भनी सर्वोच्च अदालतले गत ११ फागुन, २०७९ मा आदेश गरेको थियो ।

आदेश अनुसार जाहेरीको अनुसन्धान गरी सरकारी कागजात किर्तेमा मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरुले सर्वोच्चबाट क्षमादान पाएका हुन् । कीर्ते जन्मदर्ता र डिस्चार्ज प्रमाणपत्र बनाएको भन्दै काठमाडौं प्रहरीमा २३ जेठ २०५६ मा निवेदन परेको थियो । तर, प्रहरीले अनुसन्धान अघि नबढाएपछि ‘अनुचित विलम्ब गरेकाले शीघ्रता प्रदान गरी पाउँ’ भन्दै पुनरावेदन अदालतमा रिट निवेदन परेको थियो ।

पुनरावेदन अदालत पाटनले २९ असार २०६८ मा जाहेरीबारे यथाशीघ्र काम, कारबाही अघि बढाउन परमादेश जारी गरेको थियो । जुन आदेश उनीहरुले कार्यान्वयन गरेका थिएनन् ।

प्रतिक्रिया