कोशीमा नयाँ सरकार गठनका लागि आह्वान, १६ गते साँझसम्म समय
अखबार टुडे
प्रकाशित:
२०८०, १२ श्रावण

विराटनगर, १२ साउन । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।

गत असार २१ मा भएको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतले यसअघि कोसी प्रदेशमा गठन गरिएको सरकार संविधानविपरीत भएको ठहर गर्दै यही साउन १७ गतेभित्र बहुमतका आधारमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन बिहीबार परमादेश जारी गरेको थियो।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले एक साताभित्र पुनः बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो।

सर्वोच्चले सभामुखसमेतको समर्थनमा कोसी प्रदेशमा गठन भएको सरकार संविधानविपरीत भएको ठहर गर्दै मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।

प्रतिक्रिया